Thursday, June 18News That Matters

प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी राख्ने एकजना पक्राउ

पूर्णपुष्टि, साउन २४

नेपाल प्रहरीको प्राविधिकतर्फ प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी राखेर परीक्षा दिन लगाएको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बझाङको सुर्मा गाउँपालिका–३ का २० वर्षीय करन बिसीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश प्रहरी तालीम केन्द्र दिपायलमा भइरहेको अन्तर्वार्तामा सहभागी भएको समयमा भर्ना छनोट समितिबाट सोधपुछ गरिँदा बिसीले नक्कली परीक्षार्थी खडा गरी लिखित परीक्षा दिन लगाएको खुलेपछि उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय डोटी पठाइएको छ ।

बिसीलाई आवश्यक अनुसन्धानसहित कारबाहीका जिल्ला प्रहरी कार्यालय ल्याइएको र उनलाई किर्ते गर्न नहुने कसुरअन्तर्गत मुद्दा चलाउन हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

यसअघि पनि प्रहरी जवानको अन्तर्वार्तामा सुदिपकुमार रोकाया, सुन्दर चौधरी, दीपेन्द्र जप्रेल तथा रामनरेश चौधरी गरी चारजना नक्कली परीक्षार्थी पक्राउ परेका थिए । उनीहरुलाई पनि किर्ते गर्न नहुने कसुरअन्तर्गत मुद्दा चलाइ हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए ।