
पूर्णपुष्टि, चैत्र २५ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय उदयपुरको परिसरमा निर्मित बहुउद्देश्यीय भवनको उद्घाटन गरेका छन् । सोमबार एक औपचारिक कार्यक्रमका बीच प्रहरी नायव महानिरिक्षक अधिकारीले उक्त भवनको उद्घाटन गरेका हुन् ।
समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै महानिरिक्षक अधिकारीले विभिन्न स्रोतबाट साधन जुटाएर बहुउद्देश्यीय हल निर्माण गर्न सफल भएकोमा जिल्ला प्रहरी कार्यालय उदयपुरका सम्पूर्ण परिवारलाई धन्यवाद दिए । उनले प्रहरी कार्यालय परिसरभित्र बनेको यो भवन सबैको साझा सम्पत्ति रहेको बताए । ‘प्रहरीको प्राङ्गणमा भएपनि यो भवन आम नेपाली जनताको साझा सम्पत्ति हो,’ महानिरिक्षक अधिकारीले भने । प्रहरी परिसरमा निर्माण गरिएका सबै संरचनाहरू नागरिककै सम्पत्ति रहेको महानिरिक्षक अधिकारीले बताए ।
जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रेम प्रसाद लुइँटेलले बहुउद्देश्यीय भवनको रूपमा नामाकरण गरिएकोले यस भवनको प्रयोग विविध उद्देश्यमा गर्न सकिने बताए । यस भवनमा इन्डोर खेलहरू सञ्चालन गर्न, विपद्को समयमा राहत सामग्रीको भण्डारण गर्न, तालिम हलको रूपमा प्रयोग गर्न र योगा लगायतका ध्यान कक्षाहरू सञ्चालन गर्न सकिने उनले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) हरिहर नाथ योगीले प्रहरी सेवामा सहजता, सक्षमता र प्रभावकारिता ल्याउन सामुदायिक, प्रशासनिक र अन्य महत्त्वपूर्ण गतिविधिहरू सञ्चालन गर्न पर्याप्त स्थानको आवश्यकता परेकोले भवन निर्माण गरिएको बताए । वहुउदेश्यीय भवन आपत्कालीन अवस्था र विपद्को समयमा प्रभावितहरूको लागि सुरक्षित आश्रय स्थलको रूपमा, विपद् उद्धार सामग्री भण्डारण गर्न, औपचारिक सभा समारोह आयोजना गर्न, बैठक गर्न, प्रहरी कर्मचारीहरूको व्यावसायिक सीप र दक्षता अभिवृद्धिको लागि विभिन्न तालिमहरू सञ्चालन गर्न र प्रहरी कर्मचारीहरूको मनोरञ्जनका लागि खेलकुद प्रतियोगिताहरू आयोजना गर्न प्रयोग गरिने एसपी योगिले बताए ।
समारोहमा विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, समाजसेवी एवं सकल दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
