
पूर्णपुष्टि, जेठ १७ । काठमाण्डौँमा प्रहरी हौँ भन्दै सुन पसल लुटपाट गर्ने समुहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई गोकर्णेश्वर नगरपालिका–३ अत्तरखेल बस्ने ४८ वर्षीय भाग्यराम पाइन रहेका छन् भने ३ जना अझै फरार रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पाइन र उनको समूहले गत जेठ १३ गते बूढानीलकण्ठ नगरपालिका–१२ स्थित कपनको मुस्कान चोक नजिक रहेको सोहील बाह्रबिसे सुनचाँदी पसलमा लुटपाट गरेका थिए ।
राति करिब ११ बजे पाइनको समूह सुन पसलका सञ्चालक जय विक्रम विकको डेरामा गई ‘हामी सादा पोसाकका प्रहरी हौँ, तपाईंको पसलको अनुसन्धान गर्न आएका हौँ’ भन्दै उनीहरूले विकलाई पसल खोल्न लगाएकाको प्रवक्ता रेग्मीले बताए । पसल खोलेपछि विकलाई कुटपिट गरी पसलमा रहेको अन्दाजी ५ तोला सुनका विभिन्न गरगहना र मोबाइल लुटपाट गरी फरार भएकाको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा घटनामा पाइनको समूह संलग्न रहेको खुलेको थियो ।
पाइनलाई प्रहरीले गत जेठ १४ गते गोकर्णेश्वरबाट चोरी गरेको सुनका केही गहनासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट ५० दरको ३ सय अमेरिकी डलर र मोबाइलसमेत प्रहरीले बरामद गरेको थियो । पाइनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ भने लुटपाटमा संलग्न अन्य ३ जनाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
