
पूर्णपुष्टि, साउन १७ । सुनसरीमा ६ वर्षीया बालिकाको अपहरण प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न भएको आरोपमा विराटनगर महानगरपालिका–६ का ५० वर्षीय सञ्जय पासवान, विराटनगर–१० का ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवानलाई पक्राउ गरिएको छ।
मंगलबार दुहवीबाट हराएकी बालिकालाई बुधबार बिहान प्रहरीले विराटनगरबाट उद्धार गरेको थियो। प्रहरीका अनुसार अपहरणको उद्देश्य बालिकाको ठूलीआमालाई विदेश जानबाट रोक्नु रहेको खुलेको छ। सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार सञ्जय पासवानले खेलिरहेको अवस्थामा बालिकालाई लिएर गएका थिए। चिनजानकै व्यक्ति भएकाले बालिका सहजै उनीसँग गएकी थिइन्।
सञ्जय र बालिकाको ठूलीआमाबीच प्रेम सम्बन्ध रहेको र ठूलीआमा वैदेशिक रोजगारीमा जान काठमाडौं गएपछि सञ्जयले उनलाई फिर्ता बोलाउन बालिकाको अपहरण गरेको प्रहरीले जनाएको छ। अपहरणपछि सञ्जयले बालिकाको मामालाई फोन गरी ठूलीआमालाई फिर्ता बोलाउन धम्की दिएका थिए। पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाइने प्रहरीले जनाएको छ।
