Sunday, February 16News That Matters

फरारको आशंकामा मोटरसाईकलसहित एक पक्राउ, क्षतिपूर्तीको सहमतिपछि चक्काजाम खुल्यो

उदयपुर-बालिकालाई ठक्करदिई फरार भएको आशंकामा एक युवालाई मंगलबार मोटरसाईकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाभन्दा बाहिरबाट नियन्त्रणमा लिइएको युवा र मोटरसाईकललाई जिल्ला प्रहरी कार्यालय उदयपुर लगिएको प्रहरीले जनाएको छ ।

हिजो उदयपुरको बेलाका नगरपालिका ५ मा सोही ठाउँकी ७ बर्षिया बालिका आरती सदालाई कालो रंगको बुलेट मोटरसाईकलले ठक्कर दिई फरार भएको थियो ।

ठक्करबाट गम्भिर घाइते भएकी बालिकाको उपचारका लागि न्यूरो हस्पिटल विराटनगर लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।
खोजतलासको क्रममा पक्राउ परेको मोटरसाईकल र चालक जिल्लामा ल्याई बेलुकासम्ममा सोधपुछ तथा अनुसन्धान गरी किटानी हुने प्रहरी नायव उपरिक्षक मेघराज अधिकारीले बताए ।

पिडितद्वारा चक्काजाम, कारवाही र क्षतीपूर्तीको सहमति

यसैबीच पिडित पक्षले पिडकलाई कारवाही र पिडितलाई क्षतिपूर्तीको माग गर्दै मंगलबार विहानै रामपुर–चतरा सडकमा चक्काजाम गरेकोमा आपसी सहमति गरी खुलेको छ ।

फरार मोटरसाईकल र चालक पक्राउ गरी कारवाही गर्न र पिडितलाई उचित क्षतिपूर्तीको माग गर्दै पिडित परिवार, आफन्त र स्थानीयले चक्काजाम गरेका थिए । जक्काजामका कारण यातायात सेवा अवरुद्ध बनेको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गएको प्रहरी प्रमुख एसपी नवराज भट्ट र इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नीरिक्षक सुबास राईको पहलमा बार्ता छलफल भएपछि सहमतिमा चक्काजाम खुलेको जनाइएको छ । दोषीलाई पक्राउ गरी कारवाही गर्ने र पिडितलाई उचित क्षतिपूर्तीको पहल गर्ने सहमतिमा विहान ८ बजेदेखि नै चक्काजाम खुलेको प्रहरी प्रमुख एसपी भटट्ले बताए ।