Thursday, June 4News That Matters

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा ८० घर जलेर नष्ट, ६ जनाको मृत्यु

काठमाण्डौँ, बैशाख १९

सोमबार बिहान मेट्रो मनिलाको स्टेट युनिभर्सिटी क्याम्पसको एक आवासीय क्षेत्रमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ। फायर प्रोटेक्शन ब्युरोका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय रेडियोले जनाएअनुसार स्थानीय बिहान ५ बजे क्वेजोन शहरको उपनगरमा रहेको युनिभर्सिटी अफ फिलिपिन्स परिसरमा आगलागी हुँदा पीडितहरू आफ्नै निवासमा फसेका थिए। मृत्यु हुनेमा बालबालिकासहित छ जना छन् ।

आगलागीबाट करिब ८० घर जलेर नष्ट भएको र २५० परिवार प्रभावित भएको जनाइएको छ । आगलागीबाट बच्न केही बासिन्दाहरू जलिरहेको घरबाट हाम फालेर भाग्दा घाइते भएका छन् । करिब दुई घण्टापछि दमकलले आगो निभाएको थियो । ब्युरोले आगलागीको कारण बारे आधिकारिक सूचना जारी गरेको छैन। (रासस)