Sunday, February 16News That Matters

फेरी पनि परिक्षाको मुखैमा महोत्सव, अभिभावक तथा विद्यार्थी संगठनको विरोध, नविकरनै नभएको र लाखौं हिनामिना गरेको संघलाई प्रशासनद्वारा अनुमति

पूर्णपुष्टि, उदयपुर, फागुन १४ गते ।

-त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटले जहिले पनि विद्यार्थीको परीक्षाको मुखमा महोत्सव गरेर शैक्षिक वातावरण खलल पुर्याउने काम गरेपनि सम्बन्धीत निकायले रोक्न सकेको छैन ।

यसपटक पनि संघले विद्यार्थीको परीक्षाको मुखैमा महोत्सव राखेर शैक्षिक वातावरण खलल पुर्याउने निश्चित छ तर, सम्बन्धीत निकायहरु शिक्षा कार्यालय, प्रशासनले रोक्ने काम गरेको छैन । बरु उल्टै प्रशासनले सञ्चालनको अनुमति प्रदान गरेको छ । अझ नविकरण नै नभएको सो संस्थालाई महोत्सव गर्ने अनुमति दिएर त्रुटी भएको छ । करोडौंको कारोवार हुने मात्र नभई शान्ति सुरक्षादेखि विविध चुनौती रहने महोत्सव नविकरनै नभएको संस्थालाई सन्चालनको अनुमति दिनाले प्रशासनसमेत आलोचनामा परेको छ ।

अभिभावक तथा केही व्यापारीहरुले विरोध गरेपनि अन्यवेला विद्यार्थीको हकहितको नारा लगाउने विद्यार्थी संगठनहरु, बालअधिकारका कुरा गर्ने संघसंगठनहरुले ठोसरुपमा विद्यार्थी तथा वालवालिकाको हितमा बोलेका छैनन् । उनीहरुले विज्ञप्ती निकाल्ने, ज्ञापनपत्र बुझाउने, विरोध कार्यक्रम गर्ने जस्ता ठोस् कामहरु गरेका छैनन् ।

यही फागुन १५ देखी दश दिनसम्म हुने भनिएको महोत्सबले खास गरी चैत्र महिनामा हुने एसइइ र कक्षा १ देखी ९ सम्मका बार्षिक परिक्षालाई प्रभावित पार्नेवाला छ । गतसाल पनि परिक्षाको मुखैमा महोत्सव राखेर शैक्षिक वातावरण खलल पुर्याएकोमा व्यापक आलोचना भएको थियो । महोत्सवस्थलबाट सिधै बजार र गाउँतिर मायक फर्काएर घरमा पढ्न बसेका विद्यार्थीहरुलाई समेत असर पुर्याएको थियो । यतिबेला पनि परिक्षाको मुखैमा महोत्सव हुन लागेको भन्दै अभिभाबकहरु मेला आयोजक प्रति आक्रोसित छन् । संस्कृति भन्दा बढि विकृति र बेथिती ल्याउने गरेको अनगिन्ति महोत्सवलाई रोक्न नसकेकोमा प्रशासन, प्रहरी र अन्य सम्बन्धीत नियकाहरुप्रति पनि उनीहरु आक्रोसित छन् । आयोजकले जहिले पनि नाफा गुपचुप राखेर मिलेमतोमा घाटा मात्र देखाउने गरेको स्थानीयको आरोप छ ।

संघले बर्षैपिच्छे महोत्सव लगाउदै आएपनि अहिलेसम्म आयव्याय सार्बजनिक गरेको छैन । महोत्सवबाट न त कुनै उपलब्धी देखाउन सकेको छ, न त कुनै सभ्याता । वरु उछृंखल नृत्यहरु प्रस्तुत गर्ने, जुवाजन्य डाईस, लुडो, चर्खा जस्ता खेलहरु खेलाएर ब्रम्हलुट गर्ने, बाल उद्यानको नाममा पिङ, रेलगाडी जस्ता खेलहरु अत्याधिक शुल्क उठाउने र टिकटसमेत चर्को उठाउने गरेका छन् । यसका साथै विभिन्न प्रायोजकहरु, सरकारी कार्यालय तथा संघसंस्थाहरुबाट मोटो रकम संकलन गर्ने र त्यसको सही लेखाजोखा विनै आयोजकभित्र आफुखुसी कमाउधन्दाको होडबाजी चलाउने आरोप मात्र आउने गरेको छ । त्यतिमात्र हैन, कलाकारको नाममा आयोजकले महोत्सवभरी जिल्लाका केही सुरक्षाप्रमुख, कार्यालय प्रमुखसमेतलाई राखेर होटल तथा रेस्टुरेन्टमा लाखौंको बील उठाउने गरेको आरोप हरेक पटक आरोप आउने गरेको छ ।

एक व्यापारीका अनुसार महोत्सव वाणिज्य संघका केही व्यक्तिहरुलाई मोजमस्ती गर्ने र कमाईखाने भाडो मात्र भएको छ । महोत्सवमा बाहिरको ब्यापारी ल्याउने, महंगोमा सामान विक्री गराउने र पैसा जति बाहिर नै पठाउने, स्थानीय ब्यापार, ब्यबसायलाई झनै मार्ने काम भईरहेको स्थानीय व्यापारीहरुको गुनासो छ । स्थानीय वस्तु तथा सामग्रीको व्यापारमा संघले पटक्कै ध्यान नदिएको आरोप उनीहरुको छ ।

यसैबीच रेडियो त्रियुगाका पत्रकार इश्वर बलम्पाकीसंग कुरा गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनीयन उदयपुर सचिब भुवन दाहालले बर्षेनी जानी जानी परिक्षाको मुखैमा मेला महोत्सवको आयोजना गरी बिद्यार्थीको भविस्यमाथी खेलवाड भएको बताएका छन् यस विषयमा उठाउदा उठाउदै पनी सम्बन्धित निकायले बेवास्ता गर्ने दाहालको आरोप छ । यस्तै अखिल क्रन्तिकारी बिद्यार्थी संगठनका केन्द्रिय सदस्य भरत घिमिरेले परिक्षाको मुखैमा हुन लागेको मेलाप्रती गम्भिर ध्यानाकर्सन भएको भन्दै सम्बन्धित निकायमा ज्ञापन पत्र बुझाउने बताएका छन् । बिद्यार्थी नेता हेम खड्काले महोत्सव आयोजकले बिद्यार्थी प्रति ख्यालै नगरी मेला महोत्सवको आयोजना गर्नेे गरेको बताए ।

निमित्त प्रमुख जिल्ला अधिकारी कुमार खड्काले उद्योग वाणिज्य संघको नाताले महोत्सवको अनुमति दिइएको भएपनि जुवाजन्य खेल, डरलाग्दो खेल, अवाञ्छनीय क्रियाकलाप, हुलहुज्जत, अश्लिल गतिविधि जस्ता गविविधिमा कडाई गरिएको बताउनुभयो । त्यस्ता कुनैपनि गलत गतिविधि भएको पाईएमा जुनसुकै बेला प्रशासनले महोत्सव रोक्न सक्ने उहाँले बताउनुभयो ।

संघमा ९ लाख हिनामिना

-महोत्सव आयोजना गर्न लागेको वाणिज्य संघमा करिव ९ लाख हिनामिना भएको छ । तेस्रो र चौथो पूर्वाञ्चल महोत्सव, कोशेली घर संचालन, ओ.भी.ओ.पी., संघ संस्थाबाट प्राप्त रकमहरु हिनामिना भएको खुलासा भएको छ ।

चौथो पूर्वाञ्चल क्षेत्रिय महोत्सव–२०७३ त्रियुगाको फागुन १८ देखि २८ गतेसम्म संचालन भएको महोत्सवको रकमसमेत हिनामिना भएको खुलासा भएको छ । यस्तै पहिलो पूर्वाञ्चल महोत्सवमा ४ लाख ६ हजार २४७ रुपैया र दोस्रो पूर्वाञ्चल महोत्सवमा ६ लाख १७ हजार १०३ रुपैया आम्दानी भएको थियो । तेस्रो र चौथोको अहिलेसम्म हरहिसाव भएको देखिदैन् । स्रोतका अनुसार तेस्रो पूवाञ्चल महोत्सवमा करिव १५ लाख आम्दानी भएको प्रारम्भिक लेखापरीक्षणबाट देखिन्छ भने चौथो महोत्सवमा खर्च कटाएर १२ लाख भन्दा बढी आम्दानी भएको प्रारम्भिक लेखा परीक्षणबाट भएको देखिन्छ ।

महोत्सवको लागि स्टल बुकिङ, बाल उद्यान (रमाइलो मेला), मुख्य प्रायोजक, सहप्रायोजक लगायतबाट उठेको रकम हिनामिना भएको स्रोतले बताएको छ । स्रोतका अनुसार चौथो पूर्वाञ्चल क्षेत्रिय महोत्सव–२०७३ त्रियुगाको आम्दानी करिव २६ लाख ५० हजार मध्ये ९ लाख रकम हिनामिना भएको छ । उनका अनुसार स्टल निर्माणको खर्च बाहेक सवै स्टल ठेक्का लिनेले लिएकोले चोखो करिव १६ लाख भन्दाबढी आम्दानी हुनुपर्नेमा अहिले एक रुपैया पनि खातामा नभएको बताए । उनले भने–‘खर्च कटाएर १६ लाख भन्दा बढी आम्दानी हुँदा हुँदै पनि अध्यक्ष भगतले ९ लाख मात्रै आम्दानी भयो भनेका थिए । सोही अनुसार हामीले स्वीकार गर्यौ तर अहिले एक रुपैया पनि खातामा छैन् । सवै पैसा हिनामिना भएको छ, हिसाव पनि छैन, संस्था समेत नविकरण गरेको छैन । उनका अनुसार स्टल बुकिङ बापत १३ लाख ५० हजार रकम बाहेक अन्य कुनै संघ संस्थाको हरहिसाव देखाएको छैन् । स्रोतका अनुसार अध्यक्षले उठाउँदै आउँदै, खाँदै गरेको छ । स्रोतका अनुसार कृषि विकास बैंक, बाणिज्य बैंकमा चार वटा खाता रहेको छ, तर, सिभिल बैंक खाताको हरहिसाव अहिलेसम्म सार्वजनिक नगरेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ, मुख्य प्रायोजक एनसेल कम्पनी लगायत अन्य सह आयोजक सरकारी कार्यालयको सवै रकम अध्यक्षले उठाउँदै ल्याउँदै गरेको छ, तर, हरहिसाव नदेखाईएको बताए । अहिले संघको खाता संचालनमा हुनु पर्ने रकम बाहेक एक हजार पनि बढी रकम छैन् ।

लेखा परीक्षण गराउँदा करिव ९–१० लाख रुपैया भन्दा बढी अध्यक्ष गजेन्द्र कुमार भगतको नाउँमा बेरुजु देखिने भएकोले आफु अनुकुल लेखा परीक्षण गराउन चाहेका थिए । तर, संस्थाले तोकेको अडिटर बाहेक तेस्रो पक्षसंग अडिट गर्न खोजेपछि संस्थाका कार्यसमितिमा विरोधका कारण अडिट हुन नसकेको स्रोतले बताए । स्रोतका अनुसार अध्यक्ष भगतले विल भपाई लिएर जानुभयो तर, पछि विल भपाई मुसाले खायो भन्दै विल भर्पाई खोजीमा लाग्नु भएको छ, अहिलेसम्म अडिट भएको छैन् । लेखा परीक्षण भएमा उहाँले करिव ९–१० लाख भन्दा बढी रकम हिनामिना गरेको छ ।

त्रिउवा संघले जिल्ला प्रशासन कार्यालय उदयपुरमा २०७२ चैत्र २ गते आर्थिक वर्ष २०७१/०७२ र २०७२/०७३ को एकै साथ नविकरण गरेपनि त्यसपछि कुनै नविकरण गरेको छैन् ।

यस विषयमा त्रिउवा संघका अध्यक्ष गजेन्द्र कुमार भगतलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन । प्रथम उपाध्यक्ष रमेश बिकले संस्थाको पछिल्लो लेखा परिक्षण हुन नसकेकोले संस्था नविकरण नभएको स्विकार गर्नुभयो ।