Friday, February 14News That Matters

फोक्सिङटारमा अस्थायी बेलिब्रिज सञ्चालनमा

पूर्णपुष्टि, पुष २८ । दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा एक करोड बढीको लागतमा ५० मिटर लामो अस्थायी बेलिब्रिज जडान गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ को लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटार सिमानामा रहेको मोटरेबल पक्की पुल गत असोज गते भारी बर्षासँगै आएको बाढीले बगाएको थियो ।

खोटेहाङ र उदयपुरको सिमानामा निर्माण गरिएको यो बेलिब्रिज साढे तीन मिटर चौडा छ । लोकमार्गको गाईघाट–दिक्तेल योजना कार्यालयका अनुसार यसको निर्माण लागत रु १ करोड दुई लाख ९४ हजार रहेको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले बेलिब्रिजको उद्घाटन गर्दै दीर्घकालीन समाधानका लागि नयाँ पक्की पुल निर्माणको पहल भइरहेको बताए । स्थानीयहरूले पनि वर्षायाममा पुनः समस्या हुनसक्ने भन्दै स्थायी पुलको माग गरिरहेका छन् ।

उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यका अनुसार यो बेलिब्रिजले व्यापारीहरूलाई दैनिक उपभोग्य वस्तु ढुवानीमा राहत दिएको छ । यसअघि मध्यपहाडी लोकमार्गको घुर्मी–कटारी हुँदै सामान ढुवानी गर्नुपर्ने बाध्यता थियो । सम्झौता अनुसार ठेकेदार कम्पनीले नदीमा पानी बढेको बेला बेलिब्रिज खोलेर स्टोर गर्नुपर्नेछ । उल्लेखनीय छ, यसअघि दश वर्ष लगाएर बनाइएको १२० मिटर लामो पक्की पुल विसं २०७९ पुसमा सञ्चालनमा आएको थियो, जुन दुई वर्षमै बाढीले बगायो ।