Monday, February 17News That Matters

फोक्सिन्टारमा बेलिब्रीज निर्माण अन्तिम चरणमा

पूर्णपुष्टि, पुष २२ । उदयपुर र खोटाङ जिल्लालाई जोड्ने सगरमाथा राजमार्ग अन्तर्गत फोक्सिन्टारमा निर्माणाधीन बेलिब्रीज अन्तिम चरणमा पुगेको छ । गाईघाट–दिक्तेल सडक योजना कार्यालयले यही महिनाको २४–२५ गतेभित्र यातायात सुचारु हुने जनाएको छ ।

गत असोज १२ गते राति सुनकोशीमा आएको को बाढीले १२० मिटर लामो आर्क डिजाइनको पक्की पुल भत्काएपछि स्थानीय समस्यामा परेका थिए । यसपछि विकल्पको रूपमा १ करोड २९ लाख ४६ हजार ७७ रुपैयाँको लागतमा बेलिब्रीज निर्माण थालिएको हो । निर्माणको जिम्मा पाएको आरएन कन्स्ट्रक्सन कटारीले ५० मिटर लामो बेलिब्रीजको ९० प्रतिशतभन्दा बढी काम सकेको छ ।

योजना कार्यालयका साइट इन्चार्ज इन्जिनियर सुवास तिवारीका अनुसार पहिले पनि यही स्थानमा बेलिब्रीज रहेको र सामग्री उपलब्ध भएकाले निर्माण कार्य छिटो र सहज भएको छ । हाल यात्रुहरूले रसुवाघाटस्थित झोलुङ्गे पुल प्रयोग गर्नुपरेको छ । उल्लेखनीय छ कि भत्किएको पक्की पुल २०७९ मा मात्र सञ्चालनमा आएको थियो र दुई वर्ष नबित्दै बाढीले क्षति पुर्‍याएको हो । अझै वारिपारि दुवैतर्फ पहुँच मार्ग (एप्रोच सडक) समेत बन्न बाँकी रहेको छ ।