Sunday, August 9News That Matters

बजारमा ग्याँस अभाव, प्रशासनले गर्यो अनुगमन

पूर्णपुष्टि, चैत ३ गते । 

उदयपुरमा ग्याँसको अभाव खड्किएको भन्दै उपभोक्ताहरुले व्यापक गुनासो गरेका छन् । शहरी क्षेत्रमा खाना पकाउनका लागि अतिआवश्यक बनेको ग्याँस अभाव भएको हो । कोशी, नारायणी, प्रीमा लगायतका विभिन्न कम्पनीको ग्याँस बजारमा आउने गरेकोमा ती सबै अभाव देखिएको हो । ग्याँस नहुदा खाना पकाउन समस्या परेको उपभोक्ताहरुले बताएका छन् ।

बजारमा ग्याँसको अभावसंगै कालाबजारी भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय उदयपुरको अगुवाईमा सोमबार ग्याँस डिलरहरुको अनुगमन भएको छ । घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ लगायतको प्रतिनिधि सम्मिलित अनुगमन टोलीले कोशी, नारायणी, प्रिमा ग्याँसका डिलरहरुमा अनुगमन गरेको हो ।

अनुगमनको क्रममा डिलरहरुले लुकाएर राखेको नपाईए पनि प्रभावकारी वितरण नगर्दा अभावको अवस्था सिर्जना भएको पाइएको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत दिपक भट्टराईले बताउनुभयो ।

डिलर सञ्चालकहरुले भने पर्याप्त मात्रामा ग्याँस नआउनुले अभाव सिर्जना भएको बताएका छन् । विगतको आधारमा ढिलो आउने र कम संख्यामा खाएकोले अभाव भएको भनाइ छ । उपभोक्ताहरुलाई कुपन आधारमा वितरण गर्ने गरेको प्रिमा ग्याँस डिलर, गाईघाटका सञ्चालक अजय शाहले बताउनुभयो ।

उपभोक्ताहरुले भने पटक पटक डिलर धाउदा पनि डिलर सञ्चालकले छैन भन्दै टार्ने गरेको बताएका छन् । डिलर सञ्चालकहरुले महंगो पैसा लिएर भित्रभित्रै विक्री वितरण गर्ने गरेकाले सर्बसाधारणले सुलभरुपले पाउन नसकेको बताएका छन् । “म पटक पटक ग्यास आयो र म डिलर धाएँ तर मैले ग्याँस पाउन सकिन ।” उपभोक्ता नारायण खड्काले भन्नुभयो ।

बजारमा आयात हुने ग्याँसको संख्याको आधारमा यतिका धेरै अभाव हुन नहुनेमा सरकारी अधिकारीहरुको अनुमान छ । तर पनि अभाव बढ्दो अवस्थामा रहेकाले वास्तविकता थाहा पाउन बजार अनुगमनलाई निरन्तरता दिने र प्रभावकारी बनाउन तर्फ लाग्नुपर्ने घरेलु तथा साना उद्योग विकास कार्यालय उदयपुरका कार्यालय प्रमुख पाक्रम खाँले बताउनुभयो ।