
विक्रम राई
उदयपुर-दशैंमा गाउँघर फर्किने यात्रुहरुको चाप उदयपुरमा बढेको छ । दशैं आउन पाँच दिनमात्र बाँकी रहदा उदयपुरको सदरमुकाम गाईघाटमा यात्रुहरुको चाप अत्याधिक बढेको हो । विभिन्न ठाउँबाट गाउँघरतर्फ हिडेका यात्रुहरु गाईघाट हुदै जाने हुँदा अत्याधिक चाँप बढेको हो ।
देशको विभिन्न ठाउँमा रोजागारी, व्यापार व्यवसायी गर्ने देखि विदेशसम्मका यात्रुहरु गाईघाट हुदै पहाडी क्षेत्रमा जाने गर्दछन् । उदयपुरकै पहाडीभेग र खोटाङ क्षेत्रका यात्रुहरु जानेगर्दछन् ।
यात्रुको चाँपलाई धान्न हिमाली यातायात व्यवसायी संघलाई धौधौ परेको जनाएको छ । संघले त्यसक्षेत्रका लागि २५ वटा बसहरु सञ्चालनमा ल्याएको छ । विहानदेखि दिउसोसम्म सञ्चालन गरिने ती बसहरुमा यात्रु खचाखच भरिने गरेका छन् । भनेजस्तो सिट नपाउने र समयमा बस नपाउने समस्या यात्रुहरुको रहेको छ । यात्रुहरु बसको प्रतिक्षामा गाईघाटको पिपलचौकमा जम्मा हुने गरेका छन् ।
दशैंमा राज्यले पहाडी भेगका यात्रुहरुका लागिसवारी साधनको राम्ररी व्यवस्था नगरिदिएको गुनासो यात्रुहरुको छ । हिमाली यातायात व्यवसायी संघको तर्फबाट सक्दो यात्रुहरुलाई सुविधा पूग्ने ढंगबाट सेवा प्रवाहको प्रयास गरिएको हिमाली यातायात व्यवसायी संघका अध्यक्ष प्रेम कुमार राईले बताउनुभयो । यात्रुहरुको अत्याधिक चाँपलाई ध्यानमा राख्दै बसमा भरिनासाथ पठाई हाल्ने गरिएको छ । फर्किदा भने बस रित्तै फर्किने भएपनि यात्रुको सुविधाको लागि सन्चालन गरिएको संघले जनाएको छ ।
यातायात व्यवसायी मेम विकका अनुसार गाईघाटदेखि साउनेहुदै रसुवाघाट र सल्लेसम्म बस सन्चालन भईरहेका छन् । सडकको अवस्था नाजुक रहेकोले सवारी साधन सन्चालनमा समस्या भएपनि मर्मत गर्दै भएपनि सन्चालन गरिराखिएको उनले बताए । दशैको बेला यात्रुहरुलाई सुविधा पुर्याउने प्रयास गरिएको उनले बताए ।
प्रकाशन मिति – २०७४ असोज ९ गते