Wednesday, October 7News That Matters

बरुवा क्याम्पसले आफ्नो स्थापनाको १७औँ वार्षिक साधारण सभा सम्पन्न

  • बिरसबाबु शाही/पूर्णपुष्टि
  • १९ असोज, २०८३ । उदयपुर

गाईघाट । त्रियुगा नगरपालिका–१२ स्थित बरुवा क्याम्पसले आफ्नो स्थापनाको १७औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । क्याम्पसको सभा हलमा आयोजित साधारण सभाको उद्घाटन कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले गर्नुभएको थियो ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपसभामुख दनुवारले स्नातक तहको शिक्षाको गन्तव्यका रूपमा विकास हुँदै गएको बरुवा क्याम्पसलाई कोशी प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग जुटाउन आफू सक्रिय रहने बताउनुभयो । सर्वसुलभ रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्न क्याम्पसले खेलेको भूमिका अतुलनीय रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा अभियन्ता तथा शिक्षाप्रेमी राहुल यादवले वार्षिक साधारण सभा प्रतिवेदन प्रस्तुत गर्ने र बजेट पारित गर्ने औपचारिक कार्यक्रम मात्र नभई विगतको समीक्षा, वर्तमानको मूल्याङ्कन तथा आगामी दिनको स्पष्ट मार्ग तय गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो । उहाँले बरुवा क्याम्पस उदयपुरका हजारौँ विद्यार्थीको भविष्य निर्माण गर्ने आशाको केन्द्रका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्नुभयो ।
साधारण सभामा कोशी प्रदेश सभा सदस्य गीता रेग्मी, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बलदेव चौधरी, क्याम्पस सभा सदस्य, शिक्षाप्रेमी, पत्रकार, प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
१७औँ वार्षिक साधारण सभामा क्याम्पसको नीति तथा वार्षिक कार्यक्रम प्रस्तुत गरिएको क्याम्पस प्रमुख तथा सदस्य–सचिव भीमबहादुर खड्काले जानकारी दिनुभयो ।