Monday, February 17News That Matters

बरुवा खोला तटबन्ध मर्मत कार्य सुरु

पूर्णपुष्टि, माघ ४ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ११ ढिम्कीस्थित बरुवा खोला तटबन्धको मर्मत कार्य बुधबारदेखि सुरु भएको छ । गाईघाट बजारको संरक्षणको लागि झन्डै चार दशक अघि निर्माण गरिएको यो तटबन्ध गत वर्षको असार महिनाको बाढीले गम्भीर क्षति पुर्‍याएको थियो ।

संघीय सरकारले उपलब्ध गराएको एक करोड रुपैयाँको बजेटबाट मर्मत कार्य थालिएको त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले जानकारी दिए । ढिम्कीदेखि बरुवा पुलसम्मको पूर्वी किनारमा रहेको यो तटबन्धको संरक्षण कार्य माघ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

मेयर बस्नेतका अनुसार पटक-पटकको माग पश्चात प्राप्त भएको यो बजेट समग्र मर्मत कार्यको लागि अपर्याप्त रहेको छ । “पुरानो तटबन्धको पूर्ण मर्मतको लागि थप बजेट आवश्यक छ, तर त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा हामी छलफल गरिरहेका छौं,” उनले भने । गाईघाट बजारको मुख्य संरक्षक मानिने यो तटबन्धले वर्षेनी बाढीको कारण क्षति बेहोर्दै आएको छ । विशेषगरी गत असारको भीषण बाढीले तटबन्धमा ठूलो क्षति पुर्‍याएपछि यसको तत्काल मर्मतको आवश्यकता महसुस गरिएको थियो ।