
पूर्णपुष्टि, असार १५ ।
बरुवा खोलाको बाढीले जोखिममा परेको बरुवा बाँधमा सामान्य रोकथामको काम भएको छ । त्रियुगा नगरपालिकाले बाँस, डोरी लगायतका सामग्री तयार पारेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट खटिएको सुरक्षाकर्मी टोलीले रोकथामको काम गरेको हो । रोकथामको काम भने खेलाची जस्तै देखिएको छ । पानीको वहावले कटान भइरहेको ठाउँमा बाँसको बोटलाई डोरीले अल्झाउने काम मात्र भएको छ । त्यसले कटानलाई रोक्ने अवस्था छैन ।
हिजोदेखिको अबिरल वर्षातले खोलामा आएको बाढीले बाँधको विभिन्न ठाउँ कमजोर हुनेगरी भत्काउन सुरु गरेपछि जोखिममा परेको हो । पूर्वपश्चिम बरुवा बसपार्क छेउ, साकेलाथान छेउ र बृक्षरोपण क्षेत्रमा भत्काउन थालेको छ । पूर्वपश्चिम बरुवा बसपार्क छेउमा सबैभन्दा बढि क्षती भएको र जोखिम देखिएकोले त्यहाँ रोकथामको काम भएको छ । स्थानीयका अनुसार ठूलो वर्षात भएमा आउने बाढीले बाँध फुटाउने जोखिम उच्च छ । बालुवाको बाँधलाई बाढिले बगाउदै लगेको छ । गाईघाटबजार र पुरानो गाईघाट क्षेत्रको हजारौं घर बस्ती जोखिममा परेको छ । त्रियुुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव लगायत सुरक्षा प्रमुखहरुले स्थलगत निरिक्षण गरेका थिए । निरिक्षण लगत्तै सामान्य भएपनि रोकथामको काम भएको हो । बरुवा बाँध निर्माणमा विगतमा हेलचेक्राई भइरहेको छ । यसलाई बलियो बाँध निर्माण नगरेसम्म गाईघाट बजार र आसपासको क्षेत्र सुरक्षित हुने अवस्था नरहेको स्थानीयको भनाई छ ।
