
पूर्णपुष्टि, असोज ३१ गते ।
बसाहा–एकता युवा क्लव बसाहाको आयोजना तथा चौदण्डीगडी नगरपालिकाको संयोजनमा आयोजित प्रथम मेयर कप खुल्ला ब्याड्मिन्टन प्रतियोगिता २०७४ को उपाधी भोटराज राई र तुला मगरको जोडीले जितेको छ । बसाहाका बविन्द्र थुलुङ राई र दिनेश राईको जोडीलाई पराजित गर्दै राई र मगरको जोडीले उपाधी जितेको हो । उपाधी जितेसंगै उनीहरुको जोडीले नगद १० हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् ।
२१–१६, १९–२१ र २१–१६ को तेस्रो निर्णायक सेटमा ५ अंकले पछि परेपछि राई जोडीले दोस्रो स्थानमा चित्त बुझाउनु परेको हो । दोस्रो हुदै उनीहरुको जोडीले नगद ६ हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । बेल्टारका भेषराज मगर र बालकृष्ण कार्कीको जोडी तथा बसाहाका प्रेम रायमाझी र भुपाल राईको जोडीले तेस्रो स्थान हाँसिल गरेका छन् । तेस्रो हुने दुबै जोडीले नगद २÷२ हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाण पत्र हात पारेका छन् ।
विजेता खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि ४ नं. वडाध्यक्ष चरणकुमार राई, आयोजक क्लवका अध्यक्ष नारायण तामाङले पुरस्कार वितरण गरे । साथै प्रतियोगिताका सहयोगदाताहरुलाई पनि कदरपत्र प्रदान गरे ।
स्वस्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आयोजित मेन्स डबल्स व्याड्मिन्टन प्रतियोगिता दुइदिन सञ्चालन भएको थियो ।
प्रतियोगिताको उद्घाटन एक समारोहकाबीच मेयर खगेन्द्र राईले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलबाट व्यक्तित्व मात्र नभएर ठाउगाउ र राष्ट्रकै नाम उच्च हुने बताए । उनले सहयोगको प्रतिबद्धता व्यक्त गर्दै खेल र खेलाडी सदा मर्यादित हुनुपर्ने बताए । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्ट, सशस्त्र प्रहरी त्रियुगा गुल्मका प्रमुख डिएसपी पुरनचन्द भट्ट, इलाका प्रहरी कार्यालय बेल्टारका इन्चार्ज प्रहरी निरीक्षक आशाराम चौधरी लगायतका अतिथिहरुले शुभकामना व्यक्त गरेका थिए ।
प्रतियोगिता सञ्चालनले सिंगो चौदण्डीगडी नगरपालिका र विशेषगरी बसाहाको खेलको माहौल उठेको, सामाजिक एकता, भावनात्मक एकताको विकास भएको क्लवका सचिव बबिन्द्र राईले बताए ।