
पूर्णपुष्टि,फागुन २७
दैलेखमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ,भने १६ जना घाइते भएका छन् । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा बस दुर्घटना भएको हो ।
आज कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनीबस अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

बसमा सवार १८ जनामध्ये एक जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कालिकोटको साविक भर्ती गाविस–९ का अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका कमल विक रहेका छन् ।
दुर्घटनामा परी घाइते भएकामध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि दैलेख जिल्ला अस्पतालमा पठाइएको छ । अन्य सामान्य घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

