Sunday, June 28News That Matters

बाघको छालासहित ४ जना पक्राउ

पूर्णपुष्टि, चैत ९

बाँकेमा पाटे बाघको छाला र हड्डीसहित चारजना पक्राउ परेका छन् ।

बैजनाथ गाउँपालिका–१ च्यामास्थित सुर्खेत–कोहलपुर सडकखण्डमा अवैध बाघको छाला तथा हड्डीको कारोबार भइरहेको सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा पाटे बाघको छालासहित पक्राउ परेका हुन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का ५० वर्षीय गंगाबहादुर खत्री, २० वर्षीय प्रकाश खत्री, दैलेखको भगवतीमाई गाउँपालिका–४ का ३९ वर्षीय चन्द्र अधिकारी र जुम्लाको तिला गाउँपालिका–४ का ३८ वर्षीय ३८ वर्षीय जयलाल नेपाली पक्राउ परेका हुन् ।

चिसापानी तर्फबाट कोहलपुरतर्फ पैदल आउँदै गरेका चार जनालाई रोकेर चेकजाँच गर्ने क्रममा नेपालीले बोकेको झोलामा पाटेबाघको एक थान छाला र गंगबहादुरले बोकेको प्लाष्टिकको बोराभित्र बाघको जस्तो देखिने हड्डी २ केजी ५ सय ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका चारै जनालाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बाँके राष्ट्रिय निकुञ्जको कार्यालयमा पठाउने तयार भइरहेको प्रहरीले जनाएको छ ।