
पूर्णपुष्टि, साउन ३
छिनु र हतोडाले उत्खन्न गरेको तामा खानी ओझेलमा परेको छ । उदयपुरको रौतामाई गाउँपालिका–५ को खानी पाखामा रहेको तामा खानी सम्बन्धित निकायबाट नै ओझेलमा परेको हो ।
सम्बन्धित निकायको ध्यान नजादा गाईघाट–रानीबास–फोक्सिन्टार–रसुवा सडक खण्डदेखि करिब ५ किलो मिटर माथि राँकुली खोलाको पाखामा रहेको तामा खानी पुनः उत्खनन् हुन सकेको छैन । बाजेबराजुको पालामा तामा खानी उत्खनन् भएको स्थानीय बुढापाकाले बताएका छन् ।
स्थानीय बुढापाकाहरुले दन्ते कथा झैँ खानीको कथा भन्ने गरेको पाईन्छ । तामा खानी कस्ले पत्ता लगायो, कसरी पत्ता लगायो, कुन समयमा पत्ता लग्यो, कहिलेबाट खानीको उत्खन्न गर्न थालियो, कस्ले त्यो तामा खरिद गर्दथ्यो भन्ने कुरा कसैलाई पनि यकिन थाहा छैन ।
खानीको उत्खनन् आग्री मगर जातिले गरेको भन्ने बाजु बाबुले सुनाउने गरेको स्थानीय जेष्ठ नागरिक पूर्णबहादुर राईले बताए । खानी उत्खनन् गर्ने क्रममा खानीको सुरुङ अवरुद्ध भएपछि सवैको सुरुङ् भित्र नै मृत्यु भएकाले उत्खनन् बन्द भएको भन्ने गरेको सुनेको उनले बताए ।
त्यो खानीबाट निकालीएको तामाबाट घरमा प्रयोग गरीने विभिन्न सामाग्री गाग्री, पाने, भाँडा, झ्याङ्गा, आमखरादेखि सँुगरलाई चारो दिने डुँहुटो समेत बनाउने गरेको सुनेको स्थानीय राईले बताए । त्यो खनिएका सुरुङ ठूल–ठूला भुकम्पले क्षती पु¥याएपनि अझै दुई वटा सुरुङ अस्तित्वमा रहेको उनले बताए ।
जंगल माझमा रहेको अनाकन्टर भिरमा खानीको दुई वटा पुवाल अहिले पनि अस्तित्वमा रहेको छ । पाखामा बाहिर भएका ढुङ्गासँग नमिल्ने करिब एक मिटरसम्म लामो पत्रे चटान पाखै भरि रहेको स्थानीय राईले बताए । जुन बाहिरको ढुङ्गासँग नमिल्ने लामा–लामा पत्रे ढुङ्गा खानी खन्दा सुरुङ भित्रबाट निकालीएको भन्ने विश्वास गरिएको उनले बताए ।
अस्तित्वमा रहेको खानीको सुरुङ करिब एक मिटर उच्चाई र एक मिटर लम्बाई रहेको छ । भित्र अझै पनि त्यो बेला खन्दा प्रयोग गरिएको छिनुङको डोबहरु देख्न सकिन्छ । त्यो बेला उत्खन्न गरी निकालीएका तामाको धाउ प्रशोधन गरेको किटहरु अझै पनि डाँडैभरी रहेको स्थानीय राजन राईले बताए ।
सम्बन्धित निकायले चासो देखाएर यस्ता खानीको उत्खन्न गर्नु पर्ने स्थानीय राईले बताए । केहि कुराको विकास नभई नै कुनै प्रविधिको प्रयोग नगरी आफैले बनाएको छिनुङ र हतोडाले खानेको खानीको अहिले सम्बन्धित निकायले चासो नदेखाएको उनले बताए । खानीको सुरुङ अनाकन्टर भिरमा रहेकाले स्थानीयहरु पनि खासै त्यस ठाउँमा पुग्न नसक्ने र खासै कसैलाई पनि सुरुङ थाहा नभएको स्थानीय राईले बताए ।
वडामा रहेको प्राकृतिक स्रोत साधनको पालिकामा जानकारी गराईरहेको वडाध्यक्ष राईले बताए । तामा खानी र खाँनीडाँडाको फलाम खानी पहिला नै उत्खन्न गरेको खानी हो । वडाको तामा खानी, फलाम खानीको पुनःउत्खन्न गर्न र पर्यटकिय स्थलको विकासका लागी पहल गरिरहेको उनले बताए ।
पालिकाद्धारा खानी परिक्षण गर्न आएका प्राविधि टोली फर्केर गएपछि अत्तोपत्तो नहुने गरेको वडाध्यक्ष राईले बताए । खानीडाँडामा रहेको फलाम खानीको सर्वेक्षणमा दुई पटक विशेषज्ञ प्राविधिक टोली आएपनि फर्केर गएपछि अहिलेसम्म त्यसको नत रिर्पोट नै आयो, नत मान्छे नै आयो, कुनै जनकारी नआएको उनले बताए । खानी उत्खन्न भनेको राष्ट्रिय योजनाको काम भएकाले पालिका र त्यस भन्दा माथिको निकायले मात्रै यस काम गर्न सक्ने भएकाले वडाले सम्बन्धित निकायमा जानकारी र पहल गर्ने वडाले जनाएको छ ।
