Sunday, March 16News That Matters

बाटो (कविता)

-राजेश चामलिङ

यो बाटो कहाँ पुग्छ ?
युगौंदेखि यसरी नै सोधिरहेछन्
बटुवाहरु
कि,
यो बाटो कहाँ पुग्छ ?

कति कति अन्जान यात्रीहरु
कति कति जानाजान यात्रीहरु
नजाने झै स्वाङ पारेर पनि
सोधिरहेका छन् अझै
कि,
यो बाटो कहाँ पुग्छ ?

बुझ्नेहरु कतिकतिले
यही बाटो भएर
आस्थाको सगरमाथा चढिसके
थाहा पाउने कतिकतिले
यही बाटो हिडेर
सपनाको चन्द्रमा चुमीसके
थाहा पाउने कतिकतिले
यही बाटो हिडेर
सपनाको चन्द्रमा चुमीसके
तर पनि अझै सोधिरहेछन्
मानिसहरु
कि,
यो बाटो कहाँ पुग्छ ?

यात्रामा हिड्दा-हिड्दै दोबाटो
आउछ
यात्रामा हिड्दा-हिड्दै चौबाटो
आउछ
कोही थाकेर
कोही चाखेर
कोही अघाएर
कोही जानाजान
कोही साँच्चि नै अनजान
फेरि पनि सोधिहाल्छन्
कि,
यो बाटो कहाँ पुग्ने हो ?

ओ, जीवनको लामो यात्रामा
निस्किएका यात्री हो,
ओ, गन्तव्य पुग्न चाहने
बटुवाहरु हो,
बाटो आफै त कही पुग्दैन
पुग्ने त यात्री हो
बाटो आफैले त कतै लाँदैन
त्यहाँसम्म पुर्याउने लक्ष त
बाटो खन्नेहरुले निर्धारण गर्ने हो

होस मानेउ, यावची
बाटो आफै कतै जाँदैन
लाने त बाटो निर्माण गर्नेहरुले हो

ओ, अन्यौलग्रस्त बेचेनी
त्यसैले,
अरुले खनेको बाटो हिड्नुभन्दा
अरुले देखाईदिएको बाटो
रोज्नुभन्दा
अरुले बताईदिएको बाटो
लाग्नुभन्दा
मजा त, आफैले बाटो खन्नुमा छ ।
सुख त, स्वविवेकले पहिल्याउने बाटोमा छ
खुसी त, आफैले तय गर्ने यात्रामा छ
रोगोरोगो ताऊताऊ
ताऊताऊ रोगोरोगो
होस मानेऊ
उल्ट्याई दिऊ प्रश्न
कि
तिमी कुनबाटो हिड्ने ?

(२०७४ फागुन ९)