
पूर्णपुष्टि, असार २३ । बालबालिकाहरूलाई भारत लगेर बेचबिखन गर्न खोज्ने आरोपमा तीन जनालाई कारागार चलान गरिएको छ। काठमाडौं जिल्ला अदालतको आदेशपछि सम्बरबहादुर तामाङ, इन्दिरा कटुवाल र डिल्लीबहादुर तामाङलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको हो।
न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सम्बरबहादुर र इन्दिरालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। डिल्लीबहादुरको हकमा २ लाख रुपैयाँ धरौटी माग गरिएको थियो। तर, उनले धरौटी रकम बुझाउन नसकेपछि उनलाई पनि थुनामै पठाइएको छ।
आरोपीहरूले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाहरूलाई पोखराको होटलमा काम लगाइदिने प्रलोभन देखाएर भारततर्फ लैजान खोजेको आरोप छ। उनीहरूलाई ललितपुरबाट पक्राउ गरिएको थियो। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले यस घटनाको पुष्टि गरेका छन्। उनका अनुसार आरोपीहरूलाई कानुनी प्रक्रिया पूरा गरी कारागार चलान गरिएको हो।
