
पूर्णपुष्टि, माघ १६
बालिका हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेको छ । वीरगञ्ज महानगरपालिका–१५ भिश्वामा बस्ने सरोज महतो कुशवाहाको १० वर्षीया छोरी रिजवाना महतो हत्या अभियोगमा प्रहरीले ४० वर्षका मोतीलाल प्रसाद कुर्मीलाई पक्राउ गरेको हो ।
पुस २४ गते वीरगञ्ज–१६ नगवामा कञ्चनजंगा स्कुल नजिकै निर्माणाधीन भवनको चेपमा घोप्टो परेको अवस्थामा बालिकाको शव भेटिएको थियो ।
मोतीले बालिकाको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
योजना बनाएरै बालिकाको हत्या गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ । तथ्यलाई पुष्टी गर्न प्रमाणहरु पनि संकलन भएको जनाईएको छ ।
माघ २ गते नै पक्राउ परेका मोतीको बारेमा प्रहरीले आइतबार जानकारी दिएको छ । उनी विरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

