
पूर्णपुष्टि, चैत १८
बाल यौन दुराचारको आरोपमा एक अमेरिकी नागरिक पक्राउ परेकोे छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले अमेरिकी नागरिक माइकल नर्मन टेलरलाई पक्राउ गरेको हो ।
निकै अघिदेखि खोजीको सूचीमा रहेका उनलाई कास्कीको पोखरा महानगरपालिका–१८ मा रहेको होमस्टेमा बसिरहेका बेला हिजो पक्राउ गरेको ब्यूरोले जनाएको छ ।
अमेरिका रहँदादेखि नै बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक सञ्जालमार्फत नियमित सम्पर्क गर्ने गरेको भन्ने सूचनाका आधारमा ब्यूरोले उनको खोजी गरिरहेको थियो । उनी सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको र सन् २०१९ मा तीन बालबालिकालाई बालयौन दुराचार गरेको भन्दै पीडितबाट जाहेरी परेको प्रहरीले जनाएको छ ।
उनको साथबाट प्रहरीले चार हजार ६ सय अमेरीकी डलर, ल्यापटप तथा मोबाइल बरामद गरेको ब्यूरोले जनाएको छ ।
