
पूर्णपुष्टि/उदयपुर, असार २ ।
त्रियुगा नगरपालिका–१३ जनज्योती टोल स्थित वरुवा बसपार्क क्षेत्रमा सञ्चालन गरिएको बिटुमिन प्लान्टका कारण वातावरण तथा जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै स्थानीय समुदायले सम्बन्धित निकायसमक्ष तत्काल प्लान्ट हटाउन माग गरेका छन् ।
विश्व बैंक ऋण सहयोग कार्यक्रमअन्तर्गत त्रियुगा नगरपालिकाका विभिन्न वडामा सडक निर्माणका लागि स्थापना गरिएको बिटुमिन प्लान्ट न्यूनतम मापदण्डसमेत पूरा नगरी सञ्चालन गरिएको स्थानीयको आरोप छ। स्थानीयका अनुसार वातावरणीय मूल्याङ्कन तथा परीक्षण नगरी सञ्चालनमा ल्याइएको उक्त प्लान्टबाट निस्कने धुवाँ, धुलो र रासायनिक पदार्थले आसपासको वातावरण प्रदूषित बनाएको छ।
निवेदनमा उल्लेख भएअनुसार प्लान्टमा प्रयोग हुने टारकोललाई पातलो बनाउन प्रयोग गरिने ‘थिनर’ मानव स्वास्थ्यका लागि ‘स्लो पोइजन’ सरह रहेको दाबी गरिएको छ। उक्त रासायनिक पदार्थ तथा प्लान्टबाट निस्कने कार्बनयुक्त धुलो नजिकैको भूमिगत जलस्रोतमा मिसिँदा करिब १५० घरधुरीले प्रयोग गर्ने इनार तथा ह्याण्डपम्पको पानीसमेत दुषित भएको स्थानीयको भनाइ छ।
स्थानीय बासिन्दाले पटक–पटक लिखित तथा मौखिक रूपमा नगरपालिकालाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्। उनीहरूले नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न आग्रह गर्दै तत्काल बिटुमिन प्लान्ट हटाउन, प्रदूषित तथा विषाक्त माटो अन्यत्र सुरक्षित व्यवस्थापन गर्न तथा प्रभावित समुदायका लागि स्वच्छ खानेपानीको वैकल्पिक व्यवस्था गर्न माग गरेका छन्।
पीडित समुदायले मानव अधिकारको रक्षा, वातावरणीय न्याय तथा जनस्वास्थ्य सुरक्षाका लागि सम्बन्धित निकायले शीघ्र हस्तक्षेप गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
निवेदनको बोधार्थ जिल्ला प्रशासन कार्यालय उदयपुर तथा स्वामीनारायण निर्माण सेवा, फिल्ड कार्यालय त्रियुगा नगरपालिका–१०, उदयपुरलाई समेत दिइएको छ।
