
पूर्णपुष्टि, जेष्ठ २१
बिराटनगरमा सांसद चड्ने गाडीको ठक्करले एक मजदुरको ज्यान गएको छ भने अर्का एक मजदुर गम्भीर घाईते भएको छ । १ नं प्रदेश सांसद विन्दिया कार्कीको गाडीको ठक्कर बाट भारतीय नागरिक ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईकाअनुसार कारको ठक्करबाट गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि कोसी अस्पताल पुर्याएपछि चिकित्सकले मृत्यु घोषित गरेका हुन् ।
कारको ठक्करबाट मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीय रामकुमार राजवंशी घाइते भएका छन् । उनको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मृतक र घाइते दुवैजना विराटनगर–४ स्थित न्यू एभरेष्ट फर्निचर उद्योगमा कार्यरत मजदुर हुन् ।
बिहीवारसाँझ ७ः३५ बजेतिर विराटनगर महानगरपालिका–४ स्थित एयरपोर्ट नहरनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–०१–००२ च २१३९ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
उक्त गाडी सांसदकी छोरा रोबिन कार्कीले चलाएको प्रहरीले बताएको छ । गाडी भित्र रोबिनसहित अन्य दुई युवती समेत रहेको खुलेको छ ।
दुर्घटना लगत्तै कार चालक कार्की फरार भएका छन् । प्रहरीले भने चालकको पहिचान हुन नसकेको र फरार रहेका कारण खोजी तीव्र पारिएको जनाएको छ ।
भेला भएकाहरु दुर्घटनामा परेका घाइतेको उद्धारमा व्यस्त रहेका बेला चालक कार्की भने कार घटनास्थलमै छाडेर फरार भएका थिए । उक्त गाडी प्रदेश सांसद कार्कीले प्रयोग गर्दै आएको खुलेको छ ।
