Monday, June 22News That Matters

कोरोना जितेर घर फर्किदै थिए, एम्बुलेन्स दुर्घटनामा ज्यान गयो

पूर्णपुष्टि, जेष्ठ २१

कोरोना जितेर घर फर्किने क्रममा बाटोमा एम्बुलेन्स दुर्घटना हुँदा एक पुरुषको ज्यान गएको छ । हिजो बिहान पौने ५ बजे मकवानपुर हेटौडा उपमहानगरपालिका–११ नवलपुरमा दुर्घटना हुँदा ६६ वर्षीय एक पुरुषको ज्यान गएको हो ।

बागमती प्रदेश ०१–००२५ च ३६३८ नम्बरको एम्बुलेन्सले पछाडीबाट ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जनाकारी दिनुभयो । उक्त दुर्घटनामा परी सर्लाहीको बागमती गाउँपालिका–४ का जितबहादुर थिङको ज्यान गएको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमित थिङ १४ दिनदेखि अस्पतालमा उपचाररत थिए । उनको घर फर्किदा दुर्घटनामा परी ज्यान गएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्समा चालकसहित ४ जना सवार रहेका थिए । ३ जना घाईते भएका छन् । चालक भरतपुर महानगरपालिकाका २७ वर्षीय मनोज कुमाल र मृतकका आफन्त ३८ वर्षीया मेमा थिङ गम्भीर घाइते छन्, भने ३५ वर्षीय पूर्वबहादुर थिङ पनि घाइते छन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको हेटौडाको अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव जिल्ला अस्पताल हेटौडामा राखिएको छ ।