Wednesday, June 3News That Matters

बिहान उठ्दा श्रीमती मृत फेला परेपछि श्रीमान पक्राउ

पूर्णपुष्टि, चैत १० ।
संगै सुतेकी श्रीमती बिहान उठ्दा मृत अवस्थामा फेला परेकापछि श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोलुखुम्बु नेचा सल्यान गाउँपालिका–२ सल्यानकी २५ वर्षीया लिलामाया राई मृत फेला परेकी थिइन् । बेलुकीको खाना खाएर आफ्नै घरमा सुतेकी लिलामाया बुधवार बिहान मृत फेला परेपछि उनका ३५ वर्षीय श्रीमान गुणराजलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार खाना खाएर लिलामायासँगै सुतेका उनका श्रीमान गुणराजले श्रीमतीको मृत्यु भएको बिहान मात्र थाहा पाएका थिए । श्रीमती मृत अवस्थामा फेला परेपछि गुणराजले छिमेकीलाई खबर गरेका थिए ।
मृतकको शरीरमा चोट देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । घटनामा शंकास्पद भएकाले गुणराजलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक कटवालले जानकारी दिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।