Wednesday, April 22News That Matters

बुध ग्रहको गर्भमा लुकेको हिराको खजाना

पूर्णपुष्टि, साउन ८ । वैज्ञानिकहरूले हालै गरेको एक अध्ययनले सौर्यमण्डलको सबैभन्दा नजिकको ग्रह बुधको सतहमुनि ठूलो मात्रामा हिरा हुनसक्ने सम्भावना देखाएको छ।

चीनको बेइजिंगस्थित सेन्टर फर हाइ प्रेसर साइन्स एण्ड टेक्नोलोजी रिसर्चका वैज्ञानिक यानहाओ लिन र उनको टोलीले गरेको यो अध्ययनले बुधको असामान्य चुम्बकीय क्षेत्र र उच्च कार्बन सामग्रीको रहस्य खोल्ने प्रयास गरेको छ। अध्ययनका अनुसार बुधको मध्यमण्डल र केन्द्रमण्डलको सीमामा अत्यधिक तापमान र चापका कारण कार्बन तत्व हिरामा परिणत हुनसक्छ।

यो सम्भावनालाई जाँच्न वैज्ञानिकहरूले कार्बन, सिलिका र फलामको मिश्रणलाई उच्च चापमा परीक्षण गरे। परिणामले बुधको आन्तरिक संरचनामा हिरा बन्नसक्ने अवस्था देखायो। यद्यपि, यी सम्भावित हिरा सतहभन्दा करिब ४८५ किलोमिटर गहिराइमा र अत्यन्तै उच्च तापमानमा रहेकोले उत्खनन गर्न असम्भव छ। यो खोजले बुध ग्रहको रहस्यमयी संरचना र इतिहासबारे नयाँ अन्तर्दृष्टि प्रदान गरेको छ।