Thursday, June 4News That Matters

बेपत्ता भएकी महिलाको शव अजिङ्गरको पेटभित्र

पूर्णपुष्टि, कार्तिक ११ गते ।
इन्डोनेसियाको जाम्बी प्रान्तमा एक महिलालाई अजिङ्गरले मारेर सिङ्गो शरीर निलिदिएको विवरण स्थानीय सञ्चारमाध्यममा प्रकाशित भएको छ ।
रबर सङ्कलनको काम गर्ने ५० वर्षीया जराह रबर खेती गरिएका ठाउँमा काम गर्न गएकी थिइन् । तर उनी राति अबेरसम्म घर नफर्किएपछि उनको खोजी सुरु भयो ।
एक दिनपछि गाउँलेहरूले ठूलो भुँडीसहितको अजिङ्गर फेला पारे । त्यसपछि उक्त सर्पलाई उनीहरूले मारिदिए । सर्पको पेटमा महिलाको शव फेला परेको समाचार बीबीसीमा उल्लेख छ ।
’सर्पको पेटभित्र पीडित महिला थिइन्,’ बेटारा जाम्बीका प्रहरी प्रमुख एकेपी एस हरेफाले स्थानीय सञ्चारमाध्यमलाई भनेका छन् । उनका अनुसार ती महिलाको सग्लो शव सर्पभित्र पाइएको थियो ।
उक्त सर्प कम्तीमा पाँच मिटर लामो भएको स्थानीय बासिन्दाले बताएका छन् । हुन त यो घटना दुर्लभ हो । तर इन्डोनेसियामा अजिंगरले मानिसलाई मारेको र खाएको यो पहिलो घटना भने होइन ।
यस्तै प्रकृतिका दुईवटा घटना सन् २०१७ र सन् २०१८ मा प्रकाशमा आएका थिए ।