
पूर्णपुष्टि, चैत्र २८ । उदयपुरको कटारी नगरपालिका २ सिमानपुर स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुल बुधबार राति हावाहुरी र वर्षासँगै आएको बाढीले भत्काएको छ । चैत महिनामै आएको बाढीले २० दिन अघि मात्र ढलान गरिएको पुलको बीच भाग भाँचिएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बाढीले पुलको सेटिङमा प्रयोग गरिएको टेकाहरू बगाउँदा पुल भत्किन पुगेको र यसबाट अन्दाजी दुई करोड रुपैयाँको क्षति भएको छ ।
सिद्धिचरण लोकमार्ग अन्तर्गत मिर्चैया–कटारी–घुर्मी सडक खण्डमा पर्ने उक्त पुल निर्माणको जिम्मा सूर्य एण्ड सन्स प्रा.लि. धरानले लिएको थियो । कम्पनीले गत २०७९ साल असार २९ गतेदेखि २०८२ साल असार २९ गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेको थियो । ५० मिटर लम्बाई भएको यो सिंगल स्पान पुलको स्ल्याब गत चैत ७ गते ढलान गरिएको थियो ।
सूर्य एण्ड सन्स प्रा.लि.ले सिमानपुर सहित ताराघारी, खोक्सा र गिद्दबर गरी कुल ४ वटा पुल निर्माणको जिम्मा लिएको थियो । यी सबै पुलको कुल लम्बाई २५० मिटर रहेको र भ्याट सहित २८ करोड ९९ लाख ५२ हजार रुपैयाँमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको छ ।
मिर्चैया–कटारी–घुर्मी सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी वीरेन्द्र प्रसाद महतोका अनुसार अन्य तीन स्थानमा पुल निर्माण कार्य जारी रहेको छ तर सिमानपुरमा निर्माणाधीन पुल भने पूरा हुन नपाउँदै भत्किएको हो ।
इन्जिनियर महतोले पुल भत्किनुको कारणबारे स्पष्ट पार्दै भने, ‘पुल निर्माणमा बीच बोर्डरमा केवल हुने हुँदा २८ दिनमा मेसिनले तानेर लक गर्नुपर्ने हुन्छ, त्यसपछि मात्र पुलले पूर्ण रूपमा लोड लिन सक्छ ।’ उनका अनुसार, पुल पूर्ण रूपमा तयार हुन नपाउँदै अकस्मात आएको पानीले टेकाहरू आफ्नो स्थानबाट सारेपछि पुल भत्किन पुगेको हो । महतोका अनुसार अब क्षतिग्रस्त पुल हटाएर नयाँ पुल निर्माण गर्नुपर्ने अवस्था आएको छ ।