Monday, February 17News That Matters

बेलका नगरपालिकाको तालाबन्दी खुल्यो, छानबिन समिति गठन

पूर्णपुष्टि, पुष २१ ।  रोजगार सहायक पदमा नियुक्तिमा अनियमितता भएको भन्दै नेकपा एमालेले लगाएको तालाबन्दी आइतबार खुलेको छ । पौष १८ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीको कार्यकक्षमा लगाइएको तालाबन्दी पाँच बुँदे सहमतिपछि खोलिएको हो ।

नगरप्रमुख अशोक कार्कीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले उपमेयर जीरा राईको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । समितिले पाँच दिनभित्र घटनाको सत्यतथ्य सहितको प्रतिवेदन पेश गर्नेछ । छानबिन समितिको प्रतिवेदन सार्वजनिक नभएसम्म आरोपित प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीलाई जिम्मेवारीबाट हटाइने र दोषी देखिएकाहरूमाथि कारबाही प्रक्रिया अघि बढाइने सहमति भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।