
पूर्णपुष्टि, असार १ । बेलायती रक्षा मन्त्रालयमा भूपू गोर्खाहरुको मागबारे प्राविधिक स्तरको वार्ता भएको छ । नेपाली राजदूतावास र संयुक्त अधिराज्य (यूके) का रक्षा मन्त्रालयका पदाधिकारीहरु एवं भूतपूर्व गोर्खाका प्रतिनिधिहरुको सहभागितामा बिहीबार बैठक सम्पन्न भएको नेपाली दूतावास लण्डनले जनाएको छ ।
मन्त्रालयमा भएको बैठकमा र नेपाल सरकारको तर्फबाट नेपाली राजदूतावासकी उप–नियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर (अवकास प्राप्त) जुदबहादुर गुरुङ्ग, धर्मबहादुर तामाङ, ज्ञानराज राई र बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय र अन्तर्गतका अधिकारीहरु सहभागि थिए ।
उक्त बैठकमा भूपू गोर्खाहरुका मुख्य मागहरु पेन्सन तथा कल्याणकारी विषयहरुमा विस्तृत छलफल भएको छ । यी सम्पूर्ण विषयमा रक्षा मन्त्रालय तथा अन्य सम्बन्धित मन्त्रालयले आन्तरिक छलफल गरी पुनः अर्को बैठक गरिने सहमति भएको छ । करिब ४ घण्टा सम्म भएको छलफल सकारात्मक रहेको र आफ्ना मागहरुको सम्बोधन हुनेमा आशावादी रहेपनि निर्धक्क हुने अवस्था भने नरहेको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बताए ।