
लण्डन । क्रिस्टियानो रोनाल्डो बेस्ट फिफा फुटबल अवार्ड २०१७ मा विश्वकै उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् ।
रियल म्याड्रिड र पोर्चुगलका फरवार्डले बार्सिलोनाका लियोनेल मेस्सी र पेरिस सेन्ट जर्मेनका नेयमारलाई पछि पार्दै उक्त अवार्डमाथि कब्जा जमाएका हुन् ।
३२ वर्षीय रोनाल्डोले रियललाई ला लिगा तथा लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जिताउन सफल भएका थिए ।
गत सिजन रोनाल्डोको लागि निकै सफल रह्यो । उनले पोर्चुगललाई युरो २०१६ को उपाधि पनि दिलाए थिए । त्यस्तै युभेन्टसबिरुद्ध च्याम्पियन्स लिगको फाइनलमा ४–१ को जित निकाल्ने क्रममा उनले दुई गोल गरे । त्यस्तै २९ खेलमा २५ गोल गर्दै उनले क्लबलाई पाँच वर्षमा पहिलो पटक लिग उपाधि जित्न मद्दत गरे ।
रोनाल्डोको पक्षमा ४३.१६ प्रतिशत मत आएको थियो भने मेस्सीको पक्षमा मात्र १९.२५ प्रतिशत मत तथा नेयमारको पक्षमा ६.९ प्रतिशत मत आएको थियो ।
रोनाल्डो फिफा वर्ष खेलाडी घोषित भएको यो लगातार दोस्रो पटक हो । सन् २०१६ बाट बालोन डि’ओरबाट अलग भएर फिफाले आफ्नै पुरस्कार समारोह आयोजना गर्न थालेको हो ।
लण्डनमा आयोजित कार्यक्रममा बार्सिलोना तथा नेदरल्याण्डकी लाइके मार्टिन्सले उत्कृष्ट महिला खेलाडी, रियलका प्रशिक्षक जिनेदिन जिदान उत्कृष्ट पुरुष प्रशिक्षक तथा नेदरल्याण्डकी सरिना विगम्यान उत्कृष्ट महिला प्रशिक्षक घोषित भइन् ।
युभेन्टसलाई लगातार छैटौँ इटालियन लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका जियान लुइजी बुफोनले उत्कृष्ट गोलकिपरको उपाधि जिते ।
त्यस्तै, आर्सनलका ओलिभर जिरु उत्कृट गोलका लागि पुस्कास अवार्ड हात पारे भने सेल्टिकका समर्थकले उत्कृष्ट फ्यानको अवार्ड हात पारे ।
सन् २०१७ को उत्कृष्ट ११ खेलाडीमा रोनाल्डोसँगै मेस्सी, नेयमार, आन्द्रेस इनियेस्टा, टोनी क्रुस, लुका मोड्रिच, मार्सेलो, सर्जियो रामोश, लियोनार्डो बोनुची, ड्यानी आल्भेस र बुफोन रहेका छन् ।
एजेन्सी, रातोपाटीबाट