
पूर्णपुष्टि, कात्तिक ३
वैशाखदेखि यता विपद्जन्य घटनामा परेर देशभर चार सय ४४ जनाको मृत्यु भएको छ भने एक सय एक बेपत्ता भएका छन् ।
यही अवधिमा सात सय ३९ घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यसपालि विपद्का घटनामा परेर एक हजार सात सय ५५ चौपाया मरेको र झण्डै ८२ करोड रुपैयाँ क्षति भएको जनाएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी पहिरोबाट मात्रै दुई सय ९५ को मृत्यु, ६४ बेपत्ता र दुई सय २३ घाइते भएका छन् । पहिरोले चार सय ३५ जना पशुचौपाया क्षति भएको छ । पहिरोबाट अनुमानित पाँच करोड ९ लाख रुपैयाँको क्षति भएको छ । त्यसपछि चट्याङ्ले बढी मानवीय क्षति गराएको छ ।
चट्याङ्बाट ६५ को मृत्यु, दुई सय १३ घाइते र छ सय ९६ चौपाया क्षति भएको छ । चट्याङले ५९ लाख रुपैयाँ भौतिक क्षति भएको विवरणमा उल्लेख छ । यसैगरी बाढीबाट ४२ को मृत्यु, ३७ बेपत्ता र ११ जना घाइते भएका छन् । बाढीमा परेर २७२ पशु चौपाया मरेको र झण्डै पाँच करोड रुपैयाँको भौतिक तथा आर्थिक क्षति भएको जनाइएको छ ।
आगलागीमा परेर १० को मृत्यु एक सय ४४ घाइते र ६० करोडभन्दा बढीको भौतिक तथा आर्थिक क्षति भएको छ । सर्पदंसबाट २१ को मृत्यु, ३६ घाइते र जनावरको आक्रमणबाट ११ को मृत्यु एक सय १२ जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ ।

