Tuesday, June 2News That Matters

चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण

पूर्णपुष्टि, कात्तिक ३

चार्जिङ स्टेसनको विद्युत् महसुल र सवारी चार्ज गरेबापतको महसुल लागू भएको छ । नेपाल विद्युत् प्राधिकरणले असोजदेखि नै लागू हुनेगरी विद्युतीय सवारी सञ्चालन गरेका कम्पनीहरूलाई महसुलबारे पत्राचार गरेको छ ।
विद्युत् महसुल निर्धारण आयोगले तीन महिनाअघि तोकेको शुल्कलाई प्राधिकरणले कार्यान्वयन गरेको हो । विद्युतीय बस चार्ज गर्दा चार्जिङ स्टेसनले प्रतियुनिट चार रुपियाँ ६० पैसा तिर्नुपर्ने छ । स्टेसनले यसअघि प्रतियुनिट १० रुपियाँ तिर्दै आएको थियो ।

चार्जिङ स्टेसनले विद्युतीय सवारी चार्ज गर्दा प्रतियुनिट चार रुपियाँ ६० पैसाको थप २० प्रतिशत शुल्क लिएर सवारी चार्ज सुविधा दिन पाउने भएका छन् ।
सरकारले विद्युतीय चार्जिङ स्टेसनको विद्युत् तथा चार्ज शुल्क निर्धारण नगर्दा चार्जिङ स्टेसन समस्यामा परेको थियो । उपत्यकामा चार वटा सार्वजनिक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले आफ्नो चार्जिङ स्टेसन भए पनि महँगो शुल्क तिर्न परेकामा अब भने निकै सजिलो भएको जनाएको छ ।

अब ठूला बस पूर्ण चार्ज गर्दा पाँच सयदेखि ५ सय ५० रुपियाँ निर्धारण गरेको छ । पहिला १२ सय रुपियाँसम्म तिनुपथ्र्यो । एक पटक पूर्ण चार्ज भएका बस कम्तीमा २ सय ५० किलोमिटर गुड्छन् । काठमाडौँ उपत्यकामा गुड्ने बस एक पटक पूर्ण चार्ज गरेपछि दुई दिनसम्म सञ्चालन हुन्छन् ।
निजी विद्युतीय कार पनि घरमा चार्ज गर्नुभन्दा चार्जिङ स्टेसनमै गर्दा सस्तो पर्ने सुन्दर यातायातले जनाएको छ । घरमा चार्ज गर्दा प्रतियुनिट आठ देखि १० रुपियाँसम्म विद्युत् शुल्क तिनुपर्ने हुन्छ तर स्टेसनमा ग¥यो भने प्रतियुनिट छ रुपियाँ पर्न जान्छ ।

सुन्दर यातायातले अब देशका विभिन्न स्थानमा चार्जिङ निर्माण गर्ने भएको छ । कुरिनटार, काठमाडौँ, धुलिखेल, विराटनगर, चितवन, नवलपरासीलगायतका स्थानमा चार्जिङ स्टेसन बनाउने भएको छ । सरकारले पनि विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिरहेको छ ।