
पूर्णपुष्टि, कात्तिक ३
नेपालबाट मनसुन बाहिरिएपछि चिसो बढ्न थालेको छ । दिउँसो चर्को घाम लागेको बेला गर्मी नै भए पनि बिहान बेलुका भने चिसो हुन थालेको हो ।
न्यूनतम र अधिकतम तापक्रम अब बिस्तारै घट्दै जाने र चिसो बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डौ उपत्यकाको आज बिहान ६ बजेको तापक्रम १६.५ डिग्री सेल्सियस मापन गरिएको छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्का कुहिरो लागेको छ । कुहिरो बिस्तारै हट्दै जाने र घाम लाग्ने महाशाखाले जनाएको छ ।
आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बद्ली तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बद्ली रही अरु ठाउँमा सामान्यतया मौसम सफा रहनेछ । अहिले कुनै पनि मौसमी प्रणाली नदेखिएकाले अबको केही दिन सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।
यो वर्ष गत जेठ ३० गते नेपाल प्रवेश गरेको मनसुन चार महिनापछि असोजको ३० गते बाहिरिएको थियो ।

