Monday, April 20News That Matters

ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु

पूर्णपुष्टि, साउन २६ । ब्राजिलको साओ पाउलो नजिक एक विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको छ। भोपास एयरलाइन्सको एटीआर ७२-५०० विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलतर्फ उडिरहेको थियो। यात्राको क्रममा विमान भिन्हेडो सहरमा दुर्घटनाग्रस्त भयो।

सामाजिक सञ्जालमा प्रसारित भिडियो फुटेजमा विमान अनियन्त्रित भई ठाडो रूपमा तल खसेको देखिन्छ। विमानमा ५७ यात्रु र चालक दलका चार सदस्य सवार थिए। दुर्घटनास्थल आवासीय क्षेत्रमा भए पनि जमिनमा कसैलाई गम्भीर क्षति नपुगेको अधिकारीहरूले जनाएका छन्। एउटा स्थानीय कन्डोमिनियम कम्प्लेक्समा रहेको घरमा मात्र केही क्षति पुगेको छ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले यस दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारहरूप्रति समवेदना प्रकट गरेका छन्। साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।

दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु भइसकेको छ। अधिकारीहरूले विमानको फ्लाइट रेकर्डर फेला पारेको जानकारी दिएका छन्। साथै, विमान निर्माता कम्पनी एटीआरले पनि अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।