Friday, May 1News That Matters

भक्तपुरमा भारी वर्षाले बाढी र डुबान

पूर्णपुष्टि, असार २२ । विगत १४ घण्टादेखिको निरन्तर वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा बाढी आएको छ। बाढी सतहभन्दा माथि पुगी बस्तीमा पसेको छ। हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय र बाराहीस्थान लगायतका क्षेत्रहरू डुबानमा परेका छन्।

जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठका अनुसार प्रशासनले सुरक्षा निकाय, नगरपालिकाहरू र नेपाल रेडक्रस सोसाइटीलाई तयारी अवस्थामा राखेको छ।

नेपाली सेना खोज तथा उद्धारका लागि तयारी अवस्थामा रहेको छ। हनुमन्ते र मनोहरा नदी किनारका करिब ६५० घर बाढीको जोखिममा छन्। चाँगुनारायण र सूर्यविनायकका केही क्षेत्रहरू पहिरोको जोखिममा रहेका छन्। अधिकारीहरूले स्थानीय बासिन्दाहरूलाई सचेत र सुरक्षित रहन आग्रह गरेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिले खोज, उद्धार र राहतका लागि आवश्यक तयारी गरेको जनाएको छ।