Friday, July 3News That Matters

भारतबाट सलह भित्रिने जोखिम कायमै

पूर्णपुष्टि, साउन ३

भारतबाट सलह किरा नेपालमा आउने जोखिम अझै कायमै रहेकाले सतर्क हुन सरकारले आग्रह गरेको छ । भारतको राजस्थानमा सलहको झुण्ड धेरै रहेको र यी हावाको गतिमा अघि बढ्ने भएकाले अझै पनि नेपालमा आउने संभावना उच्च रहेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको हो ।

नेपालमा अहिले खासै सलह छैनन् । सलह पानीमा निस्क्रिय हुने भएकाले राजस्थानमा पानी परे केही समयका लागि नेपाल आउने सम्भावना टर्ने जनाईएको छ । अस्ति पश्चिम कञ्चनपुरबाट प्रवेश गरेका सहलले नेपाल छाडिसकेका छन् । सुर्खेतमा देखिएको सहलको केही झुण्ड दैलेखतिर र केही बर्दियाको राष्ट्रिय निकुञ्जतिर लागेको जनाईएको छ ।

अहिले नेपालको सीमामा यी कीरा छैनन् । तर राजस्थानबाट उत्तरपूर्व हावा बहँदा नेपाल आउने सम्भावना अझै रहेको हो । सहलको झुण्डले बालीनालीमा नोक्सानी गर्ने भएकाले सकेसम्म बालीमा बस्न नदिने उपाय नै अपनाउन सुझाव दिएको छ ।

सलहको झुण्डलाई बालीमा बस्न नदिन ठूलो आवाज निकाल्ने र धुँवा बाल्न सकिन्छ । विषादीको प्रयोग गर्दा पर्यावरणमा दीर्घकालिन असर गर्ने भएकाले पनि सकेसम्म विषादी प्रयोग नगर्न केन्द्रले आग्रह गरेको छ ।