
कटारी, मंसिर १ गते ।
भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालको लिपुलेक र कालापानीलाई भारतको नक्सामा पारेपछी सिमा मिचिएको भन्दै उदयपुरको कटारीमा पनि आईतबार वृहत विरोध प्रर्दशन भएको छ । उदयश्री बहुमुखी क्याम्पस, प्राकृतिक श्रोत व्यवस्थापन कलेज, नीजि तथा संस्थागत विद्यालयहरु र कटारी पत्रकार समाज कटारीको संयुक्त आयोजनामा व्यापक प्रदर्शन भएको हो ।
प्रदर्शनमा गाउँगाउँबाट समेत विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए । हजारौंको संख्यामा सहभागी विद्यार्थी तथा नागरिक समाज लगायतका अन्य सरोकारवालाहरुको व्यापक सहभागीता रहेको थियो । “भारतिय विस्तारबाद मूर्दाबाद, नेपाल सरकार पहल गर, कालापानी लिपुलेक हाम्रो हो” लगायतका प्लेकार्ड र नाराबाजी गर्दै सहभागीहरुले कटारी नगर परिक्रमा गरी भूगोलपार्कमा समापन गरेका थियो ।
समापनमा बोल्दै उदयश्री बहुमुखी क्याम्पसका प्रमुख मुकेश थापाले हाम्रो साँध सिमा मिचिएकाले साझा रुपमा विरोध गरिएको बताउनुभयो ।
