Saturday, December 6News That Matters

भारतीय पर्यटकका लागि कोशी प्रदेशले नाकामै सुरक्षा जाँच कार्ड वितरण गर्दै

पूर्णपुष्टि, चैत्र २९ । कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ अन्तर्गत भारतीय पर्यटकहरूको यात्रालाई सहज बनाउन नाकामै आज देखी विशेष सुरक्षा जाँच कार्ड वितरण सुरु गर्ने भएको छ । पर्यटकहरूलाई बारम्बार सुरक्षा जाँचको झन्झटबाट मुक्त गराउने यस कदमले प्रदेशमा पर्यटक आगमन बढाउने अपेक्षा गरिएको छ ।

सरकारले नाकामा स्टिकर टाँसेर ‘कोशी प्रदेश पर्यटन वर्ष–२०८२, विदेशी सवारीसाधनको अस्थायी रुट इजाजत पत्र तथा सुरक्षा जाँच कार्ड’ विशेष कार्ड वितरण गर्न लागेको हो । विराटनगरको रानी, झापाको काँकडभिट्टा, इलामको पशुपति नगर र सुनसरीको कोशी पुलमा छुट्टै युनिट राखेर यी कार्ड वितरण गरिने छ ।

कार्डमा गाडी नम्बर, नेपाल प्रवेशको समय, पुग्ने गन्तव्य, चालकको नाम, यात्रु संख्या, प्रवेश र बाहिरिने नाका तथा नेपालमा बस्ने समयावधि उल्लेख गरिन्छ । एकपटक नाकामा विवरण उल्लेख गरिएको सवारीलाई प्रदेशभित्र अन्य स्थानमा सुरक्षा जाँचका लागि रोकिनेछैन ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कमल थापाका अनुसार चैत २७ गतेदेखि सुरु भएको पर्यटन वर्षमा १० लाख पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य रहेको छ । यी कार्डमा मन्त्रालय र प्रदेश प्रहरी कार्यालयको सम्पर्क नम्बर समेत राखिएको छ ।