Monday, March 17News That Matters

भावि दिनका लागि मार्ग प्रसस्त खुलाउदै विते जनप्रतिनिधिका सय दिन

पूर्णपुष्टि, कात्तिक १ गते ।

गाईघाट–उदयपुरको त्रियुगा नगरपालिकामा जनप्रतिनिधि आगमनको सय दिन, सामान्य उपलब्धीका साथ वितेको छ । सय दिन पुगेको अवसरमा पत्रकारसम्मेलनको आयोजना गरी मेयर बलदेव चौधरीले सयदिनभित्रमा गरिएका काम तथा उपलब्धीहरु, भावी योजनाहरु र समस्या तथा चुनौतीहरु प्रस्तुत गर्नुभयो ।

उपमेयर देवी चौधरी, १६ वटै वडाका अध्यक्षहरु र कार्यपालीका सदस्यहरुका साथ आयोजित पत्रकारसम्मेलनमा मेयर चौधरीले सयदिनको अवधिमा नागरिकहरुले आशा अपेक्षा गरे अनुरुपको उल्लेख्य प्रगति गर्न नसकेपनि आगामी दिनका लागि मार्ग प्रसस्त खुल्ने किसिमका कामहरु भएको बताउनुभयो । विकास निर्माण कार्यका लागि आवश्यक पर्ने पूर्वाधार आन्तरिक व्यावस्थापन, नगरपालिका सन्चालन कानून निर्माण, प्रथम नगर सभा सम्पन्न जस्ता केही महत्वपूर्ण कामहरु भएको उनले बताउनुभयो ।

हालसम्म ६ वटा नगर कार्यपालिकाको बैंठक र सामाजिक विषयमा ९ वटा विशेषसहित ७३ वटा निर्णयहरु भएको उहाँले जानकारी दिनुभयो । पहिलो नगरसभाबाट ८१ करोड ११ लाख ७६ हजार २१३ रुपैया बजेट विनियोजन गरिएको जसबाट प्रत्येक वडालाई ७५ लाखको दरले बजेट बिनियोजन गरिएको बताउनुभयो ।

कृषि, सडक, पर्यटन, संचार, प्रविधि, विजुली, विकास पूर्वाधार, खोला नदी नियन्त्रण जस्ता महत्वपूर्ण कुराहरुलाई समेटिनुका साथै शिक्षा, स्वास्थ्य, जनचेतना जस्ता कुरामा पनि विशेष महत्वका साथ हेरिएको उहाँले बताउनुभयो । समग्र नगरपालिकाको विकासका लागि गाउँटोलदेखि कुना कन्दरासम्ममा समानरुपले विकास विस्तार, अवसर प्रदान गरिने प्रतिबद्धता उनले व्यक्त गर्नुभयो ।
अहिले भावि दिनका लागि बलियो जग बनाउने काम भएकोले पछि राम्रो परिणाम देखिने भन्दै उनले नागरिकहरुको स्थानीय विकास निर्माण प्रति आशा र अपेक्षालाई स्वभाविक रुपमा ग्रहण गरेको भन्दै उनले चुनौतीहरु सामना गर्दै अगाडी बढिरहेको उहाले बताउनुभयो
कार्यक्रममा उपमेयर देवी चौधरीले जनताको हितकै निम्ति अहोरात्र खटिरहेको बताइन । वडा नं. १८ का वडाध्यक्ष मानबहादुर राईले जनताकै अपेक्षा र सल्लाह, सुझाव र सहयोगबाट अगाडी बढिने बताउनुभयो ।

पत्रकार सम्मेलनमा पत्रकारहरुले विभिन्न जिज्ञासा राख्दै नगरमा छुटेका विषयहरु सुझावमा राखेका थिए । पत्रकारहरुले सिमित जनप्रतिनिधिले जनताबीच भन्दा पनि कोठे निर्णय गरेर अगाडी बढेकाले सयदिनको उपलब्धी देखिने किसिमको हुन नसकेको बताउनुयभयो । सोझा, सिधा, अशिक्षित जनताको भावनासमेत बुझेर अगाडी बढ्न पत्रकारहरुले सुझाव राखे ।