
पूर्णपुष्टि, माघ ४ । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकामा भीरमा खसेका एक जर्मन पर्यटकको बिहीबार सफल उद्धार गरिएको छ । सगरमाथा आधार शिविरबाट फर्कने क्रममा बाटो बिराएर भीरमा खसेका जर्मन नागरिक माइकल हेनरीलाई स्थानीय प्रहरी र गाउँलेको संयुक्त प्रयासमा सकुशल उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार टोकटोक र बैंकरबीचको जङ्गलमा रहेको भीरमा खसेका हेनरीको उद्धारका लागि करिब पाँच घण्टा लागेको थियो । “पर्यटक खच्चड हिँड्ने बाटोबाट चिप्लिएर भीरमा खस्नुभएको रहेछ,” प्रहरी चौकी नाचिपाङका प्रमुखले भने, “स्थानीयको सहयोगमा उहाँलाई सुरक्षित निकाल्न सफल भयौं ।” उद्धार गरिएका हेनरीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई शुक्रबार काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।