
पूर्णपुष्टि, २४ असार ।
सामुदायिक सर्पदंश उपचार केन्द्र भुल्केलाई त्रियुगा नगरपालिका उदयपुरले शनिबार पाँच लाख मुल्य बराबरको औषधि निःशुल्क उपलब्ध गराएको छ ।
चालु आर्थिक बर्षको विनियोजित वजेटबाट नगरपालिकाले सर्पको टोकाईबाट हुने उपचारसँग सम्बन्धि ५४ प्रकृतिका औषधिहरु खरिद गरी निःशुल्क उपलब्ध गराएको हो ।औषधि हस्तान्तरण गर्दै मेयर बसन्तकुमार बस्नेतले उपलब्ध औषधि मुलपुँजीको रुपमा लिई आगामी बर्षहरुमा निरन्तरता दिन आग्रह गरे । उनले भने, ‘यो तपाईहरुका लागि मुल पुँजि हो यसबाट विरामीलाई सुपथ मुल्यमा विक्री गरेर आम्दानी गर्नुहोस र त्यहीँबाट आगामी बर्ष औषधि खरिद गर्नुस
‘सधै मागेर चलाउने भन्दा पनि यसको निरन्तरता आत्मनिर्भर कसरी हुन सक्छ योजना बनाउनुस, मेयर बस्नेतले भने, ‘यस्तो पवित्र कार्यमा व्यक्ति, संघसंस्था आजिवन सदस्य र साधारण सदस्य बन्न सक्छन त्यसका लागि बिद्यानलाई फराकिलो बनाई विस्तार गर्नुस जसले निरन्तर सञ्चालनमा सहयोग पुग्छ ।
सर्पदंश उपचार केन्द्रलाई प्रभावकारी बनाउने नगरसभाले नीति तथा कार्यक्रम नै पारित गरिसकेकाले स्तरवृद्धीका लागि सहयोग गर्ने उनले बताए । बस्नेतले भने, ‘शिक्षा, स्वास्थ्य र कृषि त्रियुगा नगरको प्राथिमकतामा छ, त्यसका लागि रेफर सेन्टर बनेको जिल्ला अस्पताललाई अहिले छिमेकी जिल्लाकोसमेत उपचार केन्द्रकोरुपमा विकास गरेका छौ र केहि दिन भित्रै मुटुका रोगीको डाईलासिस र भेन्टिलेटर सेवा प्रवाह गर्नेछौ ।
नेपाली सेनाको १८ नम्बर वाहिनीको प्राविधिक सहयोगमा सञ्चालित सर्पदंश उपचार केन्द्रमा २०७९ सालमा २ सय ३३ जना महिला, २ सय पुरुष गरी ४ सय २५ जनालाई सेवा प्रवाह गरिएको सचिब यदुप्रसाद ढकाललले बताए । त्यसमध्ये ७४ जनालाई बिषालु र ३ सय ५१ जना अभिषालु सर्पले टोकेकाको उपचार गरिएको उनले बताए ।
त्यसैगरी २०८० सालको असार २१ गतेसम्म २९ जना महिला र २३ जना पुरुष गरी ५३ ले सेवा लिएको उनले बताए । उपचार केन्द्रमा वजेट अभावकाकारण रङरोगन, विद्युत वाईरिङ, फर्निचर खरिद लगायतका कामहरु अझै बाँकी रहेको बताए ।
अध्यक्ष पवित्रा गिरीले सामान्य शुल्कबाट उपचार केन्द्र सञ्चालन गर्नु परेकाले खर्च धान्न गार्हो परेको बताईन् । उनले भनिन्, ‘हरेउ सर्पले टोकेका विरामी एक हप्तासम्म उपचार केन्द्रमा बस्नु पर्छ त्यसमा तीन हजार रुपैँयाको औषधि खपत हुन्छ हामीले एक हजार रुपैँया लिन्छौ, यसले गर्दा धान्न सक्ने अवश्था छैन् ।
वडाध्यक्ष तिलक कटुवालले वडाबाट प्रशासनिक खर्चमा सहयोग गर्ने बताए । १८ नम्बर वाहिनीका सेनानी सुवास थापाले प्राविधिक सेवा निरन्तर दिने बताए । नगरपालिकाका स्वाले सर्पले टोकेका बेला हुन सक्ने संम्भावित खतराबाट जोगाउन सकिने गम्भिर र सामान्य प्रकृतिका सबैखाले औषधि उपलब्ध गराएको मेयर बसन्तकुमार बस्नेतले बताए ।
फोटो क्याप्सन ः सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेत । फोटो ः भरत खड्का । उदयपुर ।
