Saturday, April 26News That Matters

भूमिहिन सुकुम्बासी गोली थाप्न तयार, रासोबासो नछाड्ने अडान

पूर्णपुष्टि/उदयपुर, साउन १० गते ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले घर भत्काएर जग्गा खाली गर्न सूचना जारी गरेपछि त्रियुगा नगरपालिका १३ पुरानोगाईघाटको जनज्योतीटोलका सुकुम्बासीबस्ती चिन्तामा डुबेका छन् ।

प्रशासनले साउन २ गते सूचना जारी गर्दै एक महिनाभित्रमा नीजि संरचना हटाउन र नहटाउन पर्ने भए एथेस्ट आधार प्रमाण ७ दिनभित्रमा पेश गर्न भनेपछि पूर्जा पाउने आशामा बसेका आफुहरुमा बज्रपात परे झै भएको ७४ वर्षिय अडिमान मगरले बताए ।

२०२८ सालदेखि बरुवा खोलाको बाढीको सामना गर्दै थोरै जग्गा ओगटेर बगरमाथि बसेका सुकुम्बासीहरुले कसैको जग्गा हडपेर नबसेको र अतिक्रमण पनि नगरेको दावी गरेका छन् । उनीहरुको साथका रहेका नगरपालिकाको घरधुरी सर्भेक्षण, घरधुरी कर, सुकुम्बासी समस्या समाधान आयोगले प्रदान गरेको सुकुम्बासी परिचय पत्र आदिका आधारमा पनि हटाउन नमिल्ने मगरले बताए ।

अन्दाजी तीन दर्जन भूमिहिन सुकुम्बासी परिवार प्रशाशनको सूचनाका कारण विचलित अवस्थामा पुगेको जिल्ला भूमि अधिकार मञ्च उदयपुरका संयोजक फुर्तीमान राईले बताए । पहुँच नपुग्दा उनीहरुको पुरानो भोगचलनको जग्गा कित्ता काट नभएपछि हवाई मैदानको नाममै रहेको देखिएको बताए ।
गाईघाट ५ ख कित्ता नं. १०३ को १४ विघा १६ कठ्ठा १६ धुर उक्त जग्गामा प्राविधिक कारण देखाउदै एयरपोर्ट नबन्ने भएपछि रंगशाला, कृषि बजार केन्द्र, मदन भण्डारी सभाहल लगायतका संरचनाहरु निर्माण भइरहेका छन् ।

त्यहाँको जग्गा अतिक्रमण, माफियाको चपेटामा परेको भन्दै प्रशासनले पुराना सुकुम्बासीसमेतलाई एउटै घानमा पार्न नहुने, यदि हटाउनै अवस्था परे उचित व्यवस्थापन विना हटाउन नहुने भूमिअधिकारकर्मीको भनाई छ । त्यहाँका भूमिहिन सुकुम्वासीमाथि अन्याय पर्ने देखिएपछि खबरदारीमा उत्रिउको भूमि अधिकार मञ्च उदयपुरकी अध्यक्ष विमला सुनुवारले बताईन।

पुस्तौदेखिको रासोबासो नछाड्ने अडान उनीहरुको छ । “बरु छातिमा गोली थाप्न तयार छौं, छाड्न तयार छैनौं ।” ६० वर्षिय दिलकुमारी बोटेले भनिन् ।
यता, हवाई मैदानको जग्गाप्रति गम्भिर रहेको त्रियुगा नगरपालिकाले जनाएको छ । नगरपालिका र स्थानीय प्रशासनबीच समन्वयविनै सूचना जारी हुन गएकाले जनतामा त्रासदीको अवस्था आएकोमा दुःख व्यक्त गर्दै अव उक्त जग्गालाई नगरपालिकाको नाममा ल्याएर वास्तविक सुकुम्वासीहरुलाई व्यवस्थित गर्ने कदम अगाडी बढाइएको मेयर बलदेव चौधरीले बताए । उत्पन्न समस्याको बारेमा सम्बन्धीत तह र निकायमा जानकारी गराईसकिएको र जनतालाई व्यवस्थित गर्ने दायित्व सरकार र स्थानीय सरकारको रहेकोले चिन्तित नहुन मेयर चौधरीले आव्हान गरे ।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले सार्बजनिक जग्गा संरक्षणका लागि पहल कदमी स्वरुप सूचना जारी गरिएको बताए ।
सबैतिर हाइगुहार माग्दै गरेका सुकुम्वासीहरुले गत आइतबार प्रजिअ कार्कीलाई ज्ञापनपत्र बुझाउदै आप्mनो ठाउँबाट नहटाउन आग्रह गर्दै पर्याप्त आधार प्रमाण नगरपालिकामा पेश गरेको जनाएका थिए ।

यस सम्बन्धी भिडियो समाचार हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्…