Thursday, April 23News That Matters

भूमिहिन २० घरपरिवारलाई भवन निर्माण गरी हस्तान्तरण

पूर्णपुष्टि, जेठ ५ । सुनसरीमा विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आज एक कार्यक्रमकाबिच निर्माण भएको भवन हस्तान्तरण गरेका हुन् ।

त्यहाँस्थित भूमिहीन दलित–आदिवासी जनजाति तथा अति विपन्न परिवारहरूका लागि सुरक्षित भूमि (भूमिहीन परिवारलाई भूमिको स्वामित्व हस्तान्तरण गर्ने गरी) र सुरक्षित आवास निर्माण गर्ने उद्देश्यले सुरक्षित आवास परियोजना अन्तर्गत गढी गाउँपालिका औराबनी, ह्याविट्याट फर ह्युम्यानिटी इन्टरनेशनल नेपाल र सङ्कल्प नेपालले संयुक्त रूपमा उक्त भवन निर्माण सम्पन्न गरेको हो ।

गढी गाउँपालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गरिएको हो । २०७९ पुस २० गते सम्झौता भएको उक्त परियोजना २०८० फागुन २५ गते सम्पन्न भएको हो । विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्य अन्तर्गत निर्माण गरिएका भवनमा २ वटा कोठा, बरन्डा, भान्सा घर, शौचालय रहेका छन् ।

गढी गाउँपालिकाको ४९ लाख ५० हजार रुपैयाँ, ह्याविट्याट फर ह्युम्यानिटी नेपालको ४० लाख दुई रुपैयाँ, सङ्कल्प नेपालको १८ लाख रुपैयाँ लागत तथा घरधनीको श्रमदान ६ लाख रुपैयाँ बराबर सहित १ करोड ७ लाख ५० हजार २ रुपैयाँ कुल लागतमा उक्त भवन निर्माण परियोजना सम्पन्न भएको हो ।