
पूर्णपुष्टि, माघ २४ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले सुरु गरेका भ्रष्टाचारका विभिन्न काण्डको छानबिन अवरुद्ध पारिएको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारका मुद्दाहरूलाई मिलाउन र जोगाउन लागिपरेको बताए । “प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममै ढुक्कले भनिरहनुभएको छ, प्रचण्ड र रवि वाला सरकारले हामीलाई थुन्न खोजेपछि यो सरकार बनाउन पर्यो,” उनले भने ।
प्रचण्डका अनुसार उनको नेतृत्वको सरकार ढलेसँगै त्रिभुवन विश्वविद्यालयको जग्गा, ललिता निवास प्रकरणको विस्तृत अनुसन्धान, भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन र सरकारी जग्गा अतिक्रमणको अनुसन्धान रोकिएको छ । यही कारण कांग्रेस र एमाले गठबन्धनप्रति जनताको मोहभंग सुरु भएको उनको दाबी छ ।
उनले स्पिनिङ मिलको आइपिओमा नक्कली अडिटको काण्ड, सेन्चुरी बैंकको अर्बौं ऋणको दुरुपयोग, नक्कली भुटानी शरणार्थी काण्ड र बाँसबारी छालाजुत्ता कारखाना जग्गा काण्डको छानबिन सबै मिलाइएको आरोप लगाए ।
साथै प्रचण्डले दूरसञ्चार फ्रिक्वेन्सी र नयाँ स्टक एक्सचेन्जको लाइसेन्सलाई राज्यको सम्पत्तिका रूपमा हेर्नुपर्ने बताए । उनले नयाँ लाइसेन्स दिनुपर्ने भए कमिसनबाट होइन, खुला प्रतिस्पर्धा र रकम बढाबढको माध्यमबाट दिनुपर्ने र हालको अवैध प्रक्रिया रद्द गर्नुपर्ने बताए ।