Saturday, April 26News That Matters

मदन भण्डारी राजमार्ग : करोडौं खर्च गरेर बाटोविनै बनाइए ९ वटा पुल

पूर्णपुष्टि, चैत्र ३० । मोरङको केराबारी–९ बाट लेटाङ जाने मदन भण्डारी राजमार्गअन्तर्गत भलुवा खोलामा पुल बनेको छ तर पुलसम्म पुग्ने बाटो भने छैन । निर्माण सम्पन्न भइसक्न लागेको पुलको पूर्वतर्फ भीर छ भने पश्चिमतर्फ हिँडेर मात्र जान मिल्ने गोरेटो रहेको छ ।

२०७७ साल जेठमा निर्माण सुरु भएको यो पुलको ८८ प्रतिशत काम सम्पन्न भइसकेको छ । कुल ४३ करोड ६७ लाख १५ हजार लागतमा निर्माण सम्झौता भएको पुलका लागि हालसम्म झण्डै ८३ प्रतिशत अर्थात् ३६ करोड १० लाख ४१ हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत झापा, मोरङ र सुनसरी क्षेत्रमा बाटोको ट्र्याकविना नै यस्ता खालका ९ वटा पुल निर्माण भएका छन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा आर्थिक वर्ष २०७६÷७७ सालबाट मदन भण्डारी राजमार्गको निर्माण कार्य सुरु भएको हो ।

राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी इन्जिनियर सुवास कुमार दत्तका अनुसार तीन जिल्लामा ३७ वटा पुलको ठेक्का व्यवस्थापनमध्ये २२ वटा निर्माण भइसकेका छन् । निर्माण हुन बाँकी १५ मध्ये ९ वटा पुलको एप्रोच सडकमा वन क्षेत्र भएको कारण एप्रोच सडकबाहेक अन्य कार्य सम्पन्न भइसकेको छ । बाँकी ६ वटा पुलको स्ट्रक्चरको कार्यका साथै अन्य निर्माण काम सम्पन्न हुन बाँकी रहेको छ ।

झापाको पतापुरदेखि सुनसरीको सार्दुखोलासम्म १२७.८ किलोमिटर लामो मदन भण्डारी राजमार्गको हाल ९५.८ किलोमिटर ठेक्का लागेको छ । कमल खोलादेखि सहादतस्थलसम्म ३२ किलोमिटर भने अझै ठेक्का लाग्न बाँकी छ । यस्तै चतरादेखि सार्दु खोलासम्म ६ किलोमिटर सडक भने ठेक्का प्रक्रियामा रहेको आयोजनाको कार्यालयले जनाएको छ ।

७ वटा ठेक्कामध्ये एक किलोमिटर लामो मेची डाँडादेखि पतापुरसम्म भने कालोपत्र भइसकेको छ । अन्य ६ वटा ठेक्का अहिले पनि चालु अवस्थामा छन् । ठेक्का व्यवस्थापन भएको ९५.८ किलोमिटर सडकमध्ये हालसम्म ४२.६८ किलोमिटर कालोपत्र सडक निर्माण सम्पन्न भएको छ ।

सडक र पुल गरेर तीन जिल्लामा ८२ प्रतिशत भौतिक प्रगति रहेको छ । १० अर्ब १३ करोड ठेक्का सम्झौता भएकोमा हालसम्म ७ अर्ब ९५ करोड खर्च भइसकेको र २ अर्ब १८ करोड दायित्व बाँकी रहेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा उक्त आयोजनाका लागि ९१ करोड बजेट विनियोजन भएको छ ।

राजमार्ग निर्माणका क्रममा चारै जिल्लामा गरी १३ हजार ८३४ वटा रूख कटान हुने भएको छ । चुरे क्षेत्रबाट सडक रेखाङ्कन नगरेर चारकोशे झाडीतर्फ बाटो लगिँदा ठुलो संख्यामा रूख कटान गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

सडक निर्माणमा सडक सीमा घटाउनुपर्ने माग राखी निर्माणमा अवरोध हुने गरेको, विद्युत्का पोल, खानेपानीको पाइपको स्थानान्तरणको काम समयमै सम्पन्न नहुँदा र केही ठाउँहरूमा सडक रेखांकनमा पर्ने जग्गा विवाद तथा भौतिक संरचनाको स्थानान्तरणमा समस्या रहेको आयोजना कार्यालयले जनाएको छ ।