पूर्णपुष्टि, पुष ८ । मधेशका बिभिन्न जिल्लासहित सप्तरीमा आज चिसो ह्वातै बढेको छ । बोक्लो हुस्सु लागेको कारण घाम लाग्न छाडेपछि चिसो बढेको हो । केही दिनदेखि एक्कासि बढेको चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न पारिवार बढी प्रभावित बनेका छन्। चिसोले गर्दा बालबालिकालाई विद्यालय जान समस्या हुन थालेको छ।
महादेवा गाउँपालिका–१, सोनराका देवनारायण मण्डलले न्यानो कपडा र पर्याप्त खानेकुरा नहुँदा मुसहर बस्तीका बालबालिका, वृद्धवृद्धालगायत सबै कठ्याङ्ग्रिएर बस्नु परिरहेको गुनासो गर्नुभयो । चिसोले मुसहर बस्तीका वृद्धवृद्धाको कठ्याङ्ग्रिएर मृत्यु हुने अवस्था रहेको मण्डल बताउनुहुन्छ। चिसो छल्नका लागि स्थानीयहरू घर तथा चोक–चोकमा आगो बालेर तापिरहेका छन् ।
विपन्न परिवारलाई चिसोबाट जोगाउन स्थानीय तह तथा अन्य सरोकारवाला निकायले अहिलेसम्म कुनै पहल नगरेको प्रभावितहरूले गुनासो गरेका छन् । चिकित्सकले चिसोबाट बच्न काम विशेषबाहेक घर बाहिर ननिस्कन, झोलिलो खानेकुरा पर्याप्त खान, न्यानो लुगा लगाउन सुझाव दिएका छन् । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिन्टेन्डेन्ट डा। प्रकाश गुप्ताले अत्यधिक मात्रामा चिसो बढेकाले बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा कमजोर व्यक्तिको विशेष ख्याल गर्नुपर्ने बताउनुभएको छ।
