Sunday, April 19News That Matters

मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट एक महिनाभित्र बिजुली उत्पादन हुने

पूर्णपुष्टि, असोज ६ ।  सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन सुरु हुने भएको छ। चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा निर्माण भइरहेको यस आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।

आयोजनाको विद्युतगृहबाट बाह्रबिसे सबस्टेसनसम्म प्रसारण लाइन जोड्ने काम भइरहेको छ। बाँधक्षेत्रको निर्माण सकिएको र पानी हालेर परीक्षणसमेत गरिएको छ। विद्युतगृहमा उपकरण जडान र परीक्षण चलिरहेको छ।

हालै ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना निरीक्षण गरी एक महिनाभित्र विद्युत् उत्पादन सुरु गर्न निर्देशन दिएका छन्। आयोजनाबाट वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुने अनुमान गरिएको छ। प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ। यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ।