Friday, May 1News That Matters

मनसुन सुरु भएसँगै डेंगुको जोखिम बढ्दो

पूर्णपुष्टि, असार २१ ।मनसुन भर्खरै सक्रिय भएको छ, तर देशभर डेंगुका संक्रमित फेला परिरहेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पुसदेखि हालसम्म ७३ जिल्लामा १,४३२ जना डेंगु संक्रमित भेटिएका छन्। सबैभन्दा बढी बागमती प्रदेशमा ४८२ जना संक्रमित छन्।

कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार एक दशकको तथ्यांक हेर्दा डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ। उनले आगामी तीन महिनामा कुनै पनि ठाउँमा डेंगु फैलिन सक्ने चेतावनी दिएका छन्। विज्ञहरूका अनुसार बढ्दो शहरीकरण र जलवायु परिवर्तनका कारण डेंगु फैलिने क्रम बढेको छ। पहिले तराईमा मात्र देखिने डेंगु अहिले पहाड र हिमाली क्षेत्रसम्म पुगेको छ। डेंगु सार्ने लामखुट्टे १२–१३ डिग्री तापक्रममा पनि बाँच्न सक्ने भएकाले जोखिम बढेको हो।

डेंगुको कुनै विशेष उपचार नभएकाले रोकथाममा जोड दिनुपर्ने चिकित्सकहरू बताउँछन्। लामखुट्टेको वृद्धि रोक्न पानी जम्ने ठाउँहरू सफा गर्ने, पानी राख्ने भाँडा छोप्ने र व्यक्तिगत सुरक्षाका उपायहरू अपनाउन सुझाव दिइएको छ। डेंगुको लक्षण देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिन र जथाभावी औषधि नखान पनि आग्रह गरिएको छ।